पाडाजुँगी (कमल), ७ भदौं–कमल–५ पाडाजुँगीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १३औ बार्षिक साधारणसभामा अराजक युवाहरुको अशोभनीय हर्कतप्रति आपत्ति जनाएको छ ।
समितिले आज (शुक्रबार) कार्यालय भवनमा पत्रकार सम्मेलन गरेर हिजो भदौं ६ गते बिहिबार बार्षिक साधारणसभालाई नियन्त्रण गर्ने उदेश्यसहित युवाहरु परिचालन गरिएको र युवाहरुले देखाएको हर्कतप्रति आपत्ति जनाएको हो ।
समितिका अध्यक्ष उषा भण्डारीले खानेपानी जस्तो प्रवित्र संस्थामा राजनीतिक भागभण्डाको कारणले गर्दा आइपुगेको भन्ने बिर्सन आग्रह गरिन् । उनले यहाँ पार्टीको नेता वा कार्यकर्ता भन्ने बिचार त्याग्नु पर्ने र संस्थालाई राजनीतिक रंग नदिन समेत आग्रह गरिन् ।
संस्थाकी अध्यक्ष भण्डारीले कार्यसमितिको बैठकबाट सर्वसम्मत पारित गरेको प्रतिवेदन पुस्तिका उपर केहि व्यक्तिले सभा विथोल्नेसम्मको प्रयास भएकोमा आपत्ति जनाईन् । बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमा खानेपानीको कार्यालय रहेको कमल ५ वडाका त्तत्कालीन वडाअध्यक्षबाट सहयोग प्राप्त नभएको उल्लेख छ ।
सोहि बुदाँप्रति नेकपा (एमाले) निकट उपभोक्ता तथा स्वंम कार्यसमितिका सदस्यहरुले चरम असन्तुष्ट राख्दै आएका छन् । बिहिबार (हिजो) बार्षिक साधारणसभा चलिरहदाँ एमालेका एक अगुवा नेताले माईक खोस्नेसम्मको हर्कत देखाएका थिए ।
सोहि विषयमाथि विवादसंगै बन्दसत्रका लागि आवश्यक गणपुरक उपभोक्ताको उपस्थिति नभएपछि सभाको सवै कार्यक्रमहरु स्थगित भएको थियो । संस्थाले स्थगित साधारणसभाको बन्दसत्र लगायतका काम गर्न नियमानुसार भदौं १३ गते दोश्रो पटकका लागि पुनः तोकेको छ ।
पत्रकार सम्मेलनमा एमाले निकटका खानेपानी समितिका पदाधिकारी तथा सदस्यहरुले भने संस्थाद्धारा प्रस्तुत गरिने प्रतिवेदन पुस्तिकामा उल्लेखित बुदाँ सच्चयाउँन माग राखेका थिए ।
खानेपानी समितिमा अध्यक्ष भण्डारीसहित बहुमतमा एमालेको उपभोक्ताको नेतृत्व छ । तर, यो चुनावी साधारणसभामा अध्यक्ष भण्डारी आफनै पार्टीसंग असन्तुष्ट छिन् । एमाले, जसपा नेपाल र राप्रपासहितको गठबन्धनबाट उम्मेदवार चयन घोषणासभामा उनले कडा रुपले आफनो असन्तुष्ट सार्वजनिक गरेकी थिइन ।
पत्रकार सम्मेलनमा उनले पार्टीको स्वार्थ भन्दा माथि उठेर उपभोक्ताहरुलाई स्वच्छ पिउने पानी उपलव्ध गराउन आफूले काम गरेको दावी गरिन् । खानेपानी संस्था स्वतन्त्र र सार्वभौम संस्था भएकाले कसैको दबाबको भर समिति दायावाया नहुने उनको भनाई थियो । उनले प्रतिवेदनमा जति विषय आएका छन्, सवै यथार्थ नै भएका बताउदै त्यसलाई राजनीतिकको मुद्धा नबनाउन उनले आग्रह गरिन् । प्रतिवेदनका एक,एक विषय साधारणसभाको बन्दसत्रले करेक्सन वा पारित गर्ने भएकाले त्यही बेला यो विषयले किनारा पाउने उनले जोड दिईन् ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष राजेन्द्र संग्रौला, सचिव विष्णुप्रसाद पौडेल, लेखासदस्य भिम राई लगायतले कार्यसमितिबाट पारित भई तयार पारिएको प्रतिवेदनको बुदाँलाई दल तथा उम्मेदवार अनुकुल व्याख्या गर्न नहुने भन्दै सवै आफनो जिम्मेवारी प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।
यता, संस्थाकी सहसचिव चन्द्रकला भण्डारी, कमल ४ का वडाअध्यक्ष समेत रहेका सदस्य चन्द्रप्रसाद भट्टराई,सदस्यहरु सृजना दाहाल, सावित्रा बस्नेत लगायतले प्रतिवेदनमा केहि बुदाँलाई सच्चयाउनु पर्ने जिकीर गरेका थिए ।
असोजको दोश्रो साता हुने खानेपानीको निर्वाचनमा एमालेसहितका तीन दलबाट अध्यक्षमा कमल ५ का पूर्व वडाअध्यक्ष डम्बरवहादुर निरौला र नेपाली कांग्रेससहित माओवादी केन्द्र लिम्बूवान र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त गठबन्धनबाट अध्यक्ष राजकुमार न्यौपानेलाई अघि सारेका छन् ।
यता, संस्थाकी वर्तमान अध्यक्ष उषा भण्डारीले समेत उम्मेदवारी दिने घोषणा गरेकी छन् । २०६३ सालदेखि शुरु भएको यस खानेपानीको धारा अहिले आएर ४ हजार ९ सय नाघेको छ । यस खानेपानीले कमलका ४, ५, ६, ७ का वडामा खानेपानी पुगिसकेको छ ।
