काठमाडौं, १० भदौं–नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन स्थापनाको आज (सोमबार) तीन वर्ष पूरा भएको छ ।

नेकपा (एमाले)सँग विद्रोह गरि अलग भएपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले तीन वर्षे कार्यकालमा निकै उपलब्धिपूर्ण काम पनि सम्पन्न गरेको छ ।

सोही विषयलाई संमरण गर्दै संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आज (सोमबार) प्रेस विज्ञप्ती सावर्जनिक गरेका छन् । साथै, पत्रकारको हकहितका लागि विगतमा जस्तै कटिबद्ध भएर अघि बढ्ने उनको प्रतिबद्धता रहेको छ ।

विज्ञप्तीको पूर्ण पाठः

प्रेस विज्ञप्ति
समाजवादी प्रेस संगठन नेपाल स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा यो संगठनको स्थापना, निर्माण र सशक्त सांगठानिक उपस्थितिका निम्ति योगदान दिनुहुने सम्पूर्ण सहयोद्धा, शुभचिन्तक तथा राजनीतिक नेतृत्वप्रति हार्दिक आभार प्रकट गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

हामी मूलतः प्रेस चौतारी नेपालको पृष्ठभूमिबाट अगाडि बढ्दै एउटा कालखण्डमा विद्रोह गर्नुपर्ने परिस्थितिसँगै अगाडि बढेका हौं । चौतारीले एमालेभित्र विकसित व्यक्तिवादी अहंकारवाद तथा वाम–प्रगतिशील आन्दोलनको विसर्जनकारी गतिविधिको मतियारी गरेका कारण हामी त्यहाँबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) को राजनीतिक कार्यदिशामा प्रतिवद्ध हुँदै यो संगठन निर्माणमा जुटेका हौं ।
फेरि पनि राजनीतिक तथा सांगठानिक पक्षमा आउने कुनै पनि विचलन, विसर्जनकारी गतिविधि एवं अवसरवादी तत्वको विरोध गर्दै सशक्त संगठन निर्माणमा हामी अहोरात्र तल्लिन रहने छौं । यस सन्दर्भमा हामीलाई शुभकाना दिनुहुने समस्त शुभचिन्तक, मित्र संगठन तथा सहकर्मीप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
स्थापना दिवसका अवसरमा यस संगठन केही निश्चित विषयमा आफ्ना धारणा र प्रतिवद्धता स्मरण गर्न चाहन्छ ।

१) नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले विधानबमोजिम आफ्नो कार्यकाल पूरा गरेको लामो समय बितिसकेको छ । महाधिवेशन सम्पन्न भएर पनि महाधिवेशनकै अंगका रुपमा रहने नेतृत्व चयनको प्रक्रियालाई सदस्यता विवादका कारण अगाडि बढाउन सकेको छैन ।

देश र दुनियाँका खोट औंल्याउने पेशामा लागेका पत्रकारहरुले आफ्नै छाता संगठनको नेतृत्व निर्माणका निम्ति सम्पन्न गर्नुपर्ने निर्वाचन समयमा गर्न नसक्नु खेदजनक छ । कसैकसैले सदस्यता शुद्धीकरणलाई सांगठानिक स्वार्थपूर्तिको हतियार बनाउँदा त्यही विषयमा उत्पन्न विवादका कारण महासंघको निर्वाचन सम्पन्न हुन नसकेको हो ।

हाम्रो संगठनले न्यायोचित सदस्यता विवरण सार्वजनिक गर्दै निर्वाचन कार्यक्रम अबिलम्ब सार्वजनिक गर्न माग गरेको छ । सदस्यता शुद्धीकरणका नाममा पत्रकारिता गर्ने र लामो समयदेखि महासंघका गतिविधिमा संलग्न यस संगठनसम्बद्ध थुप्रै साथीहरुलाई पूर्वाग्रहवस हटाइएको कारण हामीले जालझेलपूर्ण सदस्यताको विरोध गरेका हौं । महासंघको निर्वाचन गर्ने कुराको हामी विरोधी हैनौं, बरु बलियो पक्षधर हौं ।

सहमतीय नेतृत्व
महासंघको आगामी निर्वाचनपूर्व सहमतीय नेतृत्वको अभ्यास गरौं भन्ने यस संगठनको शुरुदेखिकै जोडबल रहँदै आएको छ । देशभरि रहेका महासंघका सदस्य संख्याअनुसार कसका सदस्य कति छन् भन्ने आधारमा सबभन्दा बढी सदस्य हुने संगठनलाई नेतृत्व दिने गरी दोस्रो, तेस्रो र चौथो संगठनका हकमा पनि त्यही मान्यताबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्दै जानुपर्छ भन्ने यस संगठनको मान्यता हो । यसक्रममा नेपाल प्रेस युनियनको नेतृत्वमा महासंघको आगामी नेतृत्व निर्माण गर्न सकिने कुरामा समाजवादी प्रेस संगठन सदा प्रतिवद्ध छ ।

यद्यपि, संगठनहरुबीच हुने छलफलमा अन्य संगठनको नेतृत्वका विषयमा सहमति भएमा त्यसलाई स्वीकार गर्न हामी तयार छौं । यससँगै प्रेस क्षेत्रसँग सम्बन्धित नयाँ कानुनहरुका विषयमा सरोकारवाला पक्षसँग गहन छलफल गरी छिटोभन्दा छिटो जारी गरिनुपर्ने संगठनको माग छ । श्रम समस्या रहेको सञ्चार प्रतिष्ठानको पहिचान गरी व्यवस्थापनका कारण भएका श्रम समस्या हल गर्न राज्यले निश्चित संयन्त्र बनाइनुपर्ने हाम्रो माग छ ।

अन्त्यमा पुनः तेस्रो स्थापना दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछौं ।
(विश्वमणि सुवेदी)
अध्यक्ष
२०८१ भदौ १०

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *