कचनकवल (झापा), १० भदौं–झापाको कचनकवल–६ डमरगाछ निवासी एकल महिला भोटोसरी राजवंशीलाई २ कोठे जस्ताको छाना भएको घर हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय युवासंघ नेपाल कचनकवल गाउँ कमिटीद्वारा सोमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा केन्द्रीय सचिव पर्वतराज भण्डारीले घरको चावी राजवंशीलाई हस्तान्तरण गरेका हुन् ।
एकल महिला राजवंशीलाई राष्ट्रिय युवासंघ नेपालका सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मान गर्दै आफ्नो संगठन युवाको लागि मात्र नभएर जनपक्षीय काम गर्न अग्रसर रहँदै आएको बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कचनकवल गाउँपालिकाका उपप्रमुख नवराज भट्टराईले युवासंघ गाउँ कमिटीलाई सबै वडामा नमूना काम गर्न शुभकामना व्यक्त गर्दै घर निर्माणमा सहयोग गर्ने सबै दाताहरुलाई आभार प्रकट गरेका थिए ।
राष्ट्रिय युवासंघ नेपाल कचनकवल गाउँ कमिटीका अध्यक्ष नवराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ कमिटीका सदस्य श्याम घिमिरेले शाब्दिक स्वागत गरेका थिए ।
