दमक, ११ भदौं–श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज (मंगलबार) दमक ७ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो २ बजेबाट रथ निकालिएको थियो । राधाकृष्ण मन्दरबाट हनुमान मन्दिर, पशुहाट, महेन्द्रराजमार्ग हुँदै चोकलाई परिक्रमा गरी फर्निचर लाइन, पशुपति मन्दिर, शंखधर चोक, आइओएम रोड, भृकुटी चोक, लाइफलाइन मार्ग, मामाचोक पूर्व फाल्गुनन्द चोकबाट दमक नगरपालिका कार्यालय नजिकबाट राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको छ ।
विभिन्न सांस्कृतिक झाँकी सहित रथयात्रा निकालिएको छ । रथयात्रामा सहभागिलाई घर घरबाट पुष्पअर्पण गरी भव्यता र उल्लासमय बनाइएको थियो । रथयात्राका क्रममा विभिन्न चोकमा मट्का फुटाउने कार्यक्रम सम्पन्न भयो । मुस्लिम समुदाय सहित विभिन्न संघ संस्थाबाट पानी वितरण गरिएको थियो ।
जिल्लाको सदरमुकाम भद्रपुरमा २२ औं पटक श्रीकृष्ण रथयात्रा सम्पन्न भएको रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिनुभयो । श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर(५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो २ बजे रथयात्रा निकालिएको थियो । जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो । अहिले बिस्तारै अन्य पालिकाले पनि निकाल्न थालेका छन् ।
यस वर्ष रथयात्राका लागि भारत विहारको फारभिजगञ्जबाट आएकाहरुले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गरे । २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीणर् भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पांग्रासहित फलामले रथ तयार गरिदिएको छ ।
श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले दोस्रो वर्ष श्रीकृष्ण रथयात्रा निकालेको छ । गत वर्ष यी दुई संस्थाले अलग अलग रथयात्रा निकालेका थिए ।
गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकालेको छ । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो ।
त्यस्तै, गौरादहमा गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिएको रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएर समापन भएको छ ।
झापा गाउँपालिका ६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकालेको छ । सो रथयात्रा झापा ७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समापन गरिएको छ ।
यता जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइएको उल्लेख गर्नुभयो ।
