काठमाडौं, १५ भदौं–महाविधेशनको झण्डै दुई महिनापछि मंगलबार (भदौ ११ गते) नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत १८ पदाधिकारी र १०५ जना पोलिटब्यूरो सदस्य चुन्यो। तर स्पष्ट गुटगत प्रतिस्पर्धा भएको उक्त निर्वाचन सन्तोषजनक हुन सकेन।

अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल पक्षबीच प्रतिस्पर्धा भएको निर्वाचनमा एमालेबाट विद्रोह गर्दैगर्दा महत्त्वपूर्ण भूमिका खेलेका र राष्ट्रिय राजनीतिमा चिरपरिचित नेताहरू नै पराजित भए। पराजितमध्ये कतिपय नेता निर्वाचन भएकोप्रति नै असन्तष्ट छन् भने केही नेतृत्वकै कारण हार बेहोर्नुपरेको भन्दै आक्रोश पोख्छन्।

दुवै पक्षले जिताउनुपर्ने आफ्ना नेताहरूको सूची नै बाँडेका थिए। त्यसमा केही नेता दुवै गुटको सूचीमा परे र सहजै जिते। एउटा समूहमा मात्रै परेर केही मुस्किलले जिते भने केही झिनो मतान्तरले पराजित भए। कुनै पनि गुटको सूचीमा नपर्दा केही चर्चित नेताहरूलेसमते लज्जास्पद हार बेहोरेका हुन्।

नेपालको राजनीतिमा प्रभावशाली युवा नेताको पहिचान बनाएकी रामकुमारी झाक्रीले उपध्यक्षमा नराम्रो हार बेहोर्नुपर्‍यो। महिला उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी उनी जयन्तीदेवी राईसँग पराजित भइन्। यसअघि उनी पार्टी सचिव थिइन् भने राई उपाध्यक्ष नै थिइन्। ३३४ मतदातामध्ये २२ अनुपस्थित रहँदा राईले १८९ मत पाएर विजयी भइन् भने झाक्रीले ११२ मत मात्रै ल्याइन्।

आफूलाई अध्यक्ष नेपालपक्षीय उम्मेदवार ठानेकी उनले आफ्नो हारबारे भन्छिन्, ‘उहाँहरूले नै मनोनित गर्नुभएको सदस्यहरू थिए। नेतृत्वले नपत्याएपछि उहाँहरूले नै छानेका मतदाताले पनि नपत्याएका हुन्।’

महाधिवेशनकै वेला निर्वाचनमार्फत पदाधिकारी छानिएको भए आफू पराजित नहुने विश्लेषण झाक्रीको छ। उनी भन्छिन्, ‘महाधिवेशन हलबाटै निर्वाचन भएको भए परिस्थिति फरक हुन्थ्यो।’

उपाध्यक्षमा पराजित भएसँगै झाँक्री पार्टीमै रहनेमा आशंका व्याप्त छ। विगतदेखि नै एमालेसँग उदारता देखाउने गरेकी उनी अहिले उपाध्यक्षमा पराजित भएकै कारण भने पार्टीबाट नअलग्गिने तर पोलिटब्यूरो सदस्यका रूपमा कस्तो जिम्मेवारी दिइन्छ, त्यसमा भर पर्ने संकेत उनी गर्छिन्।

‘अब पोलिटब्यूरो सदस्यको कार्यविभाजन सही भयो भने एउटा कार्यक्षेत्र पाउँछु। त्यसपछि आफ्नो कार्यक्षेत्रभित्र काम गर्छु। तर यो पार्टी समाजवादी मोर्चाको नाममा वा माओवादीसँग एकता गर्ने नाममा ध्रुवीकरणको बाटोमा गयो भने हामीमध्ये धेरै साथी एमाले हुनेतिर जान्छन्’, उनी भन्छिन्।

उपाध्यक्षमा जयन्तीदेवी राईसहित रामचन्द्र झा, गंगलाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा विजयी भए। वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत पछि हटेपछि राजेन्द्र पाण्डे निर्विरोध चुनिए।

६ उपाध्यक्षमा लागि प्रतिस्पर्धा गर्ने १५ मध्येका अर्का डा। विजय पौडेल। उनी निवर्तमान उपमहासचिव हुन्। यसैगरी नेताहरू विरोध खतिवडा, ललितबहादुर बस्नेत क्षेत्री, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, केशवलाल श्रेष्ठ र बलरामप्रसाद बास्कोटा पनि पराजित भए। ​

उपमहासचिवतर्फ मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुँदा पूर्वमन्त्रीसमेत रहेका प्रभावशाली नेता जीवनराम श्रेष्ठले पराजय बेहोर्नुपर्‍यो। कार्यालय सचिवसमेतको जिम्मेवारी सम्हालिरहेका उनले उपमहासचिवमा पराजय बेहोरेसँगै राजीनामा दिइसकेका छन्।

सर्वप्रथमतः निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्यूरो चुनिएकैमा उनी नेता श्रेष्ठ असन्तुष्ट देखिन्छन्। ‘जसरी निर्वाचन गराउने काम भयो। यो नेतृत्वको परिपक्वता नदेखिएको कुरा नै हो’, उनी भन्छन्, ‘महाधिवेशनले सर्वसम्मतिको म्याण्डेट दिएको हो। यसरी पदाधिकारीहरूको चुनाव गर्ने नै भए महाधिवेशन हलबाटै गर्नुपर्थ्यो। अहिले विधानबाहिर गएर ३४४ जनाको केन्द्रीय समिति बनाउने, त्यसमा पनि तीन जना नेता बसेर आफ्नो आफ्नो मान्छे ल्याए। त्यसो हुँदा स्वाभाविकरूपमा कुन पक्षले केन्द्रीय सदस्य बढी ल्यायो उसले जित्ने कुरा भइहाल्यो। यो महाधिवेशनको भावनाअनुसार भएन।’

नेतृत्वकै गलत प्रवृत्तिका कारण निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन नसकेको ठहर नेता श्रेष्ठको छ। एमालेमा रहँदा जुन प्रवृत्तिको विरोध गरेको त्यही अहिले एकीकृत समाजवादीमा पनि देखिएको उनको बुझाइ छ।

‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित पनि भएन। अध्यक्षकै वरिपरीका मान्छेले सूची बनाउने र बाँड्ने काम गरे। त्यसले गर्दा स्वाभाविक रिजल्ट आएन’, उनी भन्छन्, ‘हिजो एमालेबाट विद्रोह गर्दैगर्दा जुन प्रवृत्तिको विरोध गरेका थियौँ, त्यही कुरा अहिले एकीकृत समाजवादीमा दोहोरियो। यद्यपि यो राजनीतिक कुरा भएकोले त्यसैगरी सोच्ने र समाधान गर्नुपर्छ।’

महासचिवमा पराजित अर्का नेता शत्रुधन महतो भने चुनावी प्रक्रियाबाट आएको नतिजालाई सहजरूपमा स्वीकारेको बताउँछन्। यद्यपि चिट बाँडिएको विषयमा भने छानबिन हुनुपर्नेमा उनी जोड दिन्छन्।

‘जब विधि प्रक्रियामा गइसकेपछि कोही जित्नु र हार्नु स्वभाविक हो। १८ जनाको लागि १०० जनाभन्दा बढी लडेपछि सबैले जित्ने भन्ने हुँदैन। त्यसकारण मैले यसलाई सामान्यरूपमा लिएको छु र लिनुपर्छ भन्छु’, उनले भने, ‘तर अलिकति नोमिनेसन भइसकेपछि चिटसिट बाँडियो भनिएको छ, त्यसमा लागि अध्यक्षले नै छानबिन गर्छौँ भन्नुभएको छ।’

एउटा पार्टीमा संघर्ष गर्न नसक्नेले अरु पार्टीमा गएर पनि गर्न नसक्ने हुँदा आफू एकीकृत समाजवादीमै रहेर संघर्ष गर्ने नेता महतो बताउँछन्। ‘मचाहिँ के भन्छु भने यहाँ संघर्ष गर्न नसक्नेले जहाँ गए पनि संघर्ष गर्न सक्दैन। त्यसकारण यहीँ रहेर जे गर्ने गर्नुपर्छ भन्ने लाग्छ।’

उपमहासचिवमा लक्ष्मण केसी, रामचन्द्र यादव, महेश रेग्मी, डा। देउमान सम्बाहाङ्फे, नागेन्द्र चौधरी, अम्बरबहादुर थापा, लक्ष्मण पौडेल, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा बिष्ट र भवानी खड्का पनि पराजित भए।

७ सचिवका ३२ प्रतिस्पर्धी चुनावी मैदानमा थिए। त्यसमध्ये गणेशबहादुर विश्वकर्मा, बलदेव चौधरी, शेरबहादुर कुँवर, चन्द्रबहार शाही, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित हुँदा २५ नेता पराजित भए।

सचिवमा पराजितमध्येकी दिलु पन्त नेताहरूले कार्यकर्ता लडाएर राम्रो नगरेको बताउँछिन्। ‘पहिलो कुरा त आन्तरिक चुनाव हो। काम र योगदानको मूल्यांकन भइहाल्ला भन्ने सोचिएको थियो। तर त्यसभन्दा विपरीत गएर साथीहरूले सम्झौता गर्नुभएको देखियो’, उनी भन्छिन्, ‘अर्को गुनासो के भने जतिखेर महाधिवेशन हलबाटै समाधान नगरेर नेताहरूले अहिले कार्यकर्ता लडाउनु राम्रो भएन।’

पोलिटब्यूरोमा भने निर्वाचित भएकी पन्त पद प्रमुख नभएकाले पद खोज्दै अर्को पार्टीमा भने नजाने बताउँछिन्। ‘पद भन्दा मुद्दा प्रमुख हो। पोलिटब्युरो सदस्य छँदैछु। यता नपाए उता उता नभए यता भन्ने हुँदैन’, उनी भन्छिन्, ‘तर पराजित साथीहरू जति हुनुहन्छ, उहाँहरूका असन्तुष्टि र गुनासोको सम्बोधन र व्यवस्थापन चाहिँ नेतृत्वले गर्नुपर्छ।’

अर्का नेता रत्नेश्वर गोइत यादव पनि पदाधिकारी छान्ने क्रममा योगदानको मूल्यांकन हुन नसकेको बताउँछन्। ‘महाधिवेशन हलबाट घोषणा भएका ९३ बाहेकका साथीहरू मनोनयन भए। ती नयाँ साथीहरूलाई थाहै छैन कि पार्टीमा कसको योगदान कति भने भन्ने’, उनी भन्छन्, ‘त्यसो हुँदा धेरै योग्य मान्छेहरू पराजित भए।’

सचिवमै पराजित सुदूरपश्चिम प्रदेशका सांसदसमेत रहेका दीर्घ सोडारी भने यसलाई सामान्य ठान्छन्। ‘मैले यसलाई सामन्य रुपमै लिएको छु। खासमा म उम्मेदवार हुने नै थिइनँ। साथीहरूले फर्म लिएर उम्मेदारी हालिदिनुभएको हो। जति भोट आयोग यसमा म खुशी नै छु। सहजरूपमा लिएको छु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *