दमक, १८ भदौं–झापाको कमल गाउँपालिका-५ पाडाँजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि यहि भदौ ३१ गते निर्वाचन हुने भएको छ ।
खानेपानी उपभोक्ता समितिको मंगलवार सम्पन्न १३औ बार्षिक साधारणसभाको बन्दसत्रले यहि भदौ ३१ गते निर्वाचनको मिति तय गरिएको अध्यक्ष उषा भण्डारीले बताईन् । बन्दसत्रले संस्थाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष उत्तम राईको आर्थिक प्रतिवेदन र लेखा संयोजक धर्मानन्द भट्टराईले प्रस्तुत लेखाप्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्न कमल गाउँपालिकाका पशु शाखा प्रमुख दिपेन्द्र लामिछानेको निर्वाचन संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको द्धयसदस्यमा राजेन्द्रप्रसाद सुवेदी र मिरा भट्टराई रहेका छन् । गठित निर्वाचन समितिले बुधबारदेखिनै कामथाल्ने बताईएको छ ।
खानेपानी उपभोक्ता समितिको निर्वाचन नजिकिएसंगै दलीय रुपमा गठबन्धन गरि निर्वाचनमा होमिएका छन् भने केहि समूह स्वतन्त्र ढंगले चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक गठबन्धनबाट अध्यक्षमा राजु न्यौपाने र नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनबाट डम्बर बहादुर निरौलालाई अध्यक्षमा उठाएको छ ।
कमलको वडा न। ५, ६ र ७ (साविक लखनपुर) र साविक तोपगाछी ४ का केहि उपभोक्ता गरि ४ हजार ९ सय घरधुरीसम्म खानेपानी वितरण हुदै आएको छ । निर्वाचनमा मतदातायोग्य उपभोक्ताको संख्या भने ३ हजार ९ सय रहेको छ ।
