वामदेब गौतम

काठमाडौँ, १८ भदौं–नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले छोडेका चर्चित नेताहरूलाई पार्टी भित्र्याउने आन्तरिक कसरत तीव्र पारेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल नै यस काममा खटिरहेका छन्।

असार १६ देखि १९ सम्म पार्टी स्थापना भएपछिको पहिलो महाधिवेशन गरेको समाजवादीले पुराना नेता जोड्ने अभियान थालेको छ। पार्टीका पदाधिकारी पनि वार्ता र छलफलमा जुटेका छन्।

एकीकृत समाजवादीले मुख्यगरी एमालेमा निष्क्रिय रहन बाध्य पारिएका भीम रावल र नेकपा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भित्र्याउने कोसिस गरिरहेको छ।

रावलसँग सुुदूरपश्चिम र गौतमसँग देशव्यापी नेता रहेको एकीकृत समाजवादीको बुझाइ छ।

राष्ट्रिय पार्टी बन्न नसकेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक खिसिट्युरी गरेपछि एकीकृत समाजवादीले एमाले छोडेका नेतालाई प्राथमिकता दिएको नेताहरू बताउँछन्।

उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कतिपय छलफल सकारात्मक छन्। चाँडै निष्कर्ष आउने उनको भनाइ छ।

अध्यक्ष माधव नेपालले गौतमसँग चारपाँच पटक कुरा गरिसकेका छन्। एकीकृत समाजवादीको महाधिवेशनपछि साउन पहिलो हप्ता र भदौ पहिलो हप्ता गौतम निवास भैँसेपाटी पुगेरै अध्यक्ष नेपालले पार्टीमा आउन प्रस्ताव गरे।

‘मिलेर जाने प्रस्ताव धेरैपटक आयो,’ गौतमले नेपालखबरसँग भने, ‘यहीँ आउनुपर्‍यो, हामीसँगै मिल्नुपर्छ, सबै तपाईंका र तपाईंले निर्माण गरेका साथीहरू छन् भन्नुभयो।’

रावललाई अध्यक्षपछिको जुनसुकै पद दिन तयार रहेको सन्देश पठाएका नेपालले गौतमलाई भने वरिष्ठ उपाध्यक्ष बनाउन आनाकानी गरेको छ।

जिम्मेवारीका विषयमा प्रष्ट जवाफ नपाएकैले रोकिएको गौतम बताउँछन्।

‘तपाईंहरूसँग आएर काम गर्छु, पहिला पनि सँगै काम गरेको हो,’ गौतमले नेपाललाई जवाफ दिएका थिए।

‘भदौमा उहाँहरूको पदाधिकारी चुन्नुअघि पनि उहाँ ९माधव० आउनुभएको थियो। वरिष्ठ उपाध्यक्ष दिनुस् प्रतिस्पर्धात्मक रूपमा काम गर्छु भनेँ। जिम्मेवारी दिने सन्दर्भमा उहाँ ९माधव०ले केही बोल्नुभएन,’ गौतमले नेपालखबरसँग भने, ‘सँगै आएको साथीलाई अर्को साथीसित भन्न लगाउनुभयो, वरिष्ठ नेता बनाउन सकिन्छ भन्नुभयो, तर पदाधिकारी चयन गर्ने बेला केही गर्नुभएन। वरिष्ठ उपाध्यक्ष अर्कै हुनुभयो। अनि वरिष्ठ नेता पनि अर्कै नेता भए। मलाई वास्ता गर्नुभएन।’

एकीकृत समाजवादीले भदौ ९ देखि ११ सम्म केन्द्रीय समितिको पूर्ण बैठक राखेको थियो। समितिले भदौ ११ गते निर्वाचनबाट १७ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ।

गौतमलाई फकाउन एकीकृत समाजवादीका नेताहरू अझै लागिपरेका छन्।

‘मैले त आफ्नो संगठनमा पटक–पटक निर्णय गर्दै जान्छु तर उहाँ ९माधव० कमरेड केही निर्णय दिनुहुन्न। अनि म रोकिएको छु,’ गौतम भन्छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडाले पनि गौतमसँग कुरा भइरहेको स्वीकार गरे। तर, गौतमको माग पूरा गर्नै नसक्ने खालको भएकोले समय लागेको उनले दाबी गरे।

‘वामदेवजीलाई हामी सबैले आउनुस् भनेका छौँ,’ उनले भने, ‘हाम्रो नेताहरूले पटक–पटक कुरा गर्नुभएको छ। फोन संवाद सबैले गरिरहेका छौँ, उहाँ सकारात्मक हुनुहुन्थ्यो। अलिअलि कुरा मिलेको छैन। वामदेवजीका राजनीतिक सर्त धेरै कडा कडा हुन्छन्। त्यसैले आइहाल्नुभएको छैन,’ खतिवडाले थपे।

तर, गौतम भने कडा माग नराखेको जिकिर गर्छन्।

‘मेरो समाजमा जे हैसियत छ, त्यही हेरेर दिनुस्, विगतमा पनि माधवको मातहतमा बसेकै हो, अब पनि बस्न तयार छु तर, काम गर्न पाउनुपर्‍यो भनेको हुँ। तर ठोस जवाफ दिनुभएको छैन, अब भोलि के होला थाहा छैन,’ उनले भने।

एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडाले निरन्तर संवादले निष्कर्षमा पुगिने बताए।

‘वामदेव गौतमलाई हामीले टाढाको देखेकै छैनौँ। निरन्तर संवाद भइरहने नेता हो उहाँ,’ उनी भन्छन्।

रावललाई अध्यक्षबाहेकका जुनसुकै पद दिन तयार रहेको एकीकृत समाजवादीले गौतमलाई किन ठोस जिम्मेवारी नतोकेको भन्ने प्रश्नमा खतिवडा भन्छन्– ‘वामदेव गौतमको घोषित सर्त हुन्छन्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सम्पूर्ण समावेशी निर्वाचनजस्ता दुईचारवटा उहाँका आफ्नै कुराहरू छन्, त्यस्ता कुरा कार्यान्वयन गराउन सकिने खालका छैनन्।’

राजनीतिमा मिल्ने सम्भावना बाँकी रहेको गौतम पनि स्वीकार गर्छन्।

त्यसो त गौतमले एमाले जाने प्रयास पनि नगरेका होइनन्।

अध्यक्ष केपी शर्मा ओलीसँग कुरा पनि गरे। तर, एमाले महासचिव शंकर पोखरेलले पार्टीमा वामदेवलाई स्थान छैन भन्ने जवाफ पठाएपछि उनी एकीकृत समाजवादीका नेतासँग छलफलमा बसेको बताउँछन्।

गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *