काठमाडौँ, १९ भदौं–पेरिसमा जारी पारालिम्पिक्समा गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनसहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

पलेसाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशको प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकलाई एनसेलले नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।

पलेसालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा एनसेलले गरेको छ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप यो सम्मान तथा सहयोग गर्न लागिएको जनाएको छ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसा र देशको यो सफलताबाट आफू उत्साहित बनेको बताएका छन्।

‘पलेसाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपाल र सम्पूर्ण पारा खेलाडीको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो,’ एनसेलका प्रमुख कार्यकारी निर्देशक कायुमोभले भनेका छन्, ‘एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौँ।’

एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८ औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ९सीएसआर० अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।

यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।

पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक ९काँस्य० दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश आइपुगेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *