दुधे, १९ भदौं–शिवसताक्षी ११ दुधे चौकमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
२०६३ सालमा दर्ता भई सञ्चालनमा आएको सो सहकारी संस्थाले २०७४ सालसम्ममा मह उत्पादन र बजारीकरणमा आफ्ने छुट्टै ब्राण्ड बनाइसकेको छ ।
सतासी महिला मौरीपालन सहकारी संस्थाद्धारा उत्पादन भएको महले देश विदेशसम्म आफ्नो छाप छोडिसकेको अवस्थमा २०७४ सालदेखि सहारा नेपाल सकोससँग ५० लाख रुपैयाँ बराबरको साझेदारीमा मह र मौरीजन्य उपकरण खरिद र सञ्चालन गर्न सम्झौता यसअघि नै भएको छ ।
साहराले २०८० सालसम्म आइपुग्दा सम्झौता गरे अनुसारको सुविधा उपलब्ध नगराएपछि संस्थाले आफैं उद्योग सञ्चालनमा ल्याउन सुरु गरिएको प्रतिवेदनमा जनाइएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष धनमाया थापाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा सभा समक्ष जानकारी दिइन् । ‘संस्था केहीसमय कोरोना र पछिल्लोसमय देशैभर आएको वित्तीय संकटले गर्दा सुस्त भएको थियो’ अध्यक्ष थापाले भनिन् ‘अब संस्था पुरानै लयमा फर्किएको छ ।
मह उत्पादनमा बृद्धि भएको र बजारीकरण पनि पुरानै अवस्थामा पुर्याइएको छ । अब सबै सदस्यहरुले दिल खोलेर मह उत्पादन र बजारीकरणमा लाग्न हुन संस्थाको अध्यक्षको नाताले सबैमा अनुरोध गर्दछु ।’
कार्यक्रममा संस्थाका व्यवस्थापक देवीकुमारी ओलीले १७औं वार्षिक साधारण सभाबाट गरिएको निर्णय, प्रस्ताव र माइन्युट मौरी उद्योगको साझेदार संस्था साहरा नेपालमा पठाइसकेको तर आजसम्म पनि कार्यान्वयन नहुँदा दुःख लागेको बताइन् । उनले हाल ३० हजार केजी मह उत्पादन गरी बिक्री गरिएको समेत जानकारी दिइन् । चालू वर्ष संस्थाले ६० हजार केजी मह उत्पादन गरी ५० हजार केजी बिक्री गर्ने लक्ष्य राखिएको उनले बताइन् ।
कार्यक्रममा संस्थाका सदस्य हिराकुमारी भट्टराई नगदसहित सम्मान गरेको छ ।
साधारण सभा बैंक तथा वित्तीय संस्था विज्ञ चूडामणि चापागाईले सहकारीका सदस्यहरुलाई मह उत्पादन र त्यसको बजारीकरण, व्यवस्थापन लगायत विषयमा अभिमुखीकरण गरेका थिए ।
