झापा, २० भदौं–गाउँशहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देश विदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ ।

आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन् । कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ । यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए । गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा।।।’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा ९मङ्गलबार दिउँसोसम्ममा० एक करोड १३ लाखभन्दा बढी पटक सुनिएको(हेरिएको छ । जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो ।

एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ । अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायक÷गायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । नेपालबाट चल्तीका गायक गायिकालाई बोलाएर सँगसँगै नाच्नछन् अनि रमाउँछन् ।

गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन् । झण्डै दुई महिने यात्राका क्रममा उनीहरुले अमेरिकाका २१ सहरमा तीज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन् । युरोप र अरब देशहरुमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किए । यसपाली तीज गीत ‘बिच्चबिच्चमा–७’ सार्वजनिक गरेर चर्चामा आएका उनले एडिलेड र सिड्नीका दुई कार्यक्रममा प्रस्तुति दिएको सुनाए । ‘अहिलेको तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिँदैछु’, उनले भने, ‘चाडपर्वका बेला कलाकारलाई पनि भ्याइनभ्याइ हुन्छ, अहिले कलाकार धानिने भनेकै यस्तै कार्यक्रमले हो ।’

गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिनेछन् । गायिका समीक्षा अधिकारी, गायक रामजी खाँडलगायत कलाकार पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन् । नागोया, फुकोआकालगायतका जापानका विभिन्न सहरमा आफूहरुको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिए ।

गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुगेका छन् । गायिका लक्ष्मी मल्ल मल्लले यतिबेला हङकङ छन् । गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन् । विदेश जान नपाएका कलाकार स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन् ।

बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली सङ्घसंस्थाले दिदीबहिनीहरु बोलाएर दर खाने, शुभकामना आदानप्रदानसहित तीज पर्व मनाउने गरेको बताए । ‘नेपाली बस्ने अधिकांश सहरमा तीजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि पछिल्लो समय बढ्दो छ’, उनले भने, ‘प्रवासमा रहेका महिलालाई तीज पर्वको न्यास्रो नलागोस् भनेर भनेर यस्ता कार्यक्रम गर्ने गरिएको छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *