काठमाडौँ, २१ भदौं–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हिन्दु नारीको महान पर्व हरितालिका तीजको शुभकामना सन्देश दिनुभएको छ।
शुक्रबार सामाजिक सञ्जाल फेशबुकमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका खनालले शुभकामना दिनुभएको हो। उहाँले लेख्नुभएको छ, ‘नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
उहाँले अगाडि लेख्नुभएको छ,‘आजको दिन महिलाहरुले पूजा आराधना गरी व्रत बस्ने चलन रहिआएको छ। आज दिदीबहिनीहरु जमघट हुने, वर्षभरीका आफ्ना पिर मर्का, सुख दुःख आदिलाई भुलेर एक आपसमा खुशी बाड्दै नाचगान गरि मनोरञ्जन गर्ने गर्दछन्।
पर्वले सबै बर्ग, क्षेत्र र समुदायका महिला दिदीबहिनीहरुमा आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्दछ। साथै, हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्धन पनि गर्नेछ। अन्त्यमा, यो पर्वको अवसरमा सम्पूर्ण नेपाली महिलाहरुलाई अझ बढी अग्रगति, प्रगति र समृद्धिको कामना सहित म हार्दिक शुभकामना व्यक्त गर्दछु।’

