चारआली (झापा), २१ भदौ–तीन दिन अघि झापाको बुट्टावारीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको आज विहान उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नं ५ बस्ने २४ वर्षीय दिवाङकर राई रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा आज बिहान बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा-११ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ न।को मोटरसाइकल र धुलाबारीबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ न को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक राई र पछाडी सवार मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने २८ वर्षीय सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएको थियो । बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
