पाडाँजुङ्गी (कमल), २१ भदौ–झापाको कमल गाउँपालिका–५ पाडाँजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।

नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचनमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेले साना पार्टीसंग समिकरण बनाएर चुनावी मोर्चा बनाएका छन् ।

त्यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीमा प्यानल उम्मेदवारी बनाएका छन् भने हालकी अध्यक्ष उषा भण्डारीले समेत उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितको प्यानलबाट अध्यक्षमा युवा व्यत्तित्व राजकुमार न्यौपाने (राजु) लाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

नेकपा (एमाले) को नेतृत्वमा राप्रपा, जसपा नेपालवीच गठबन्धन गरि अध्यक्षमा डम्बरबहादुर निरौलालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

त्यस्तै, प्रमुख दलहरुबाट असन्तुष्ट भएकाहरुले पनि स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

रास्वपाबाट अध्यक्षमा कृष्ण बहादुर भण्डारी र खानेपानीकी हालकी अध्यक्ष भण्डारीले समेत पुनः उम्मेदवारी घोषणा गरिसकेकीले पनि यसपटक चारै पक्षवीचको भिडन्त निकै रोचक हुने देखिएकोछ ।

नेतृत्व आ–आफ्नो पक्षमा बनाउन दलीयसंगै स्वतन्त्र ढंगले उम्मेदवारी घोषणा गरि उपभोक्ताका माझ मत माग्दैआएका छन् । उनीहरुले खानेपानीका कयौं एजेण्डा आफूले जितेका खण्डमा पूरागर्ने भनी प्रतिवद्धता जनाउदैआएका छन् ।

खानेपानी उपभोक्ता समितिको १३औ बार्षिक साधारणसभाको बन्दसत्रले यहि भदौ ३१ गते निर्वाचनको मिति तय गरि निर्वाचनका आवश्यक कार्यक्रम सार्वजनिक भईसकेका छन् ।

निर्वाचन सम्पन्न गर्न कमल गाउँपालिकाका पशु शाखा प्रमुख दिपेन्द्र लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको द्धयसदस्यमा राजेन्द्रप्रसाद सुवेदी र मिरा भट्टराई रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शनिवार भदौ २२ मा उम्मेदवार मनोनयन राखिएको छ । जसअनुसार विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म उम्मेवार मनोनयनको समय तय गरिएको उल्लेख छ ।

कमलको वडा न ५, ६ र ७ साविक लखनपुर र साविक तोपगाछी ४ का केहि उपभोक्ता गरि ४ हजार ९ सय घरधुरीसम्म खानेपानी वितरण हुदै आएको छ ।

जसअनुसार क्षेत्र न १ मा ७५९, क्षेत्र न २ मा ७६०, क्षेत्र न ३ मा १९२, क्षेत्र न ४ मा १०५० र क्षेत्र न ५ मा ८०४ र संघसंस्थातर्फ ४२ जना मतदाताका रुपमा रहेको निर्वाचन समितिले जनाएको छ । खानेपानीको कुल मतदातायोग्य उपभोक्ताको संख्या भने ३ हजार ६ सय ११ रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *