दमक, २१ भदौं–प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले २३ भदौं आइतबारदेखि थप सेवा विस्तार गर्ने भएको छ । झापाको कमल–७ गेउरियास्थित प्रादेशिक आयुर्वेद अस्पतालले सेवाग्राहीहरुको बढ्दो चाप, माग र आवश्यक्तालाई मध्यनजर गर्दै थप सेवा विस्तार गर्न लागेको हो ।
अस्पतालले आज (शुक्रबार) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर भदौं २३ गतेदेखि भिडियो एक्सरे, इसीजी, ल्याव लगायतका सेवा विस्तार गर्न लागेको जानकारी गराएको छ ।
अस्पतालका कार्यकारी प्रमुख सिदार्थ ठाकुरका अनुसार भदौं २३ गते आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अस्पतालबाट सेवा विस्तार गरिने उपकरणको उद्घाटन गर्नुहुने कार्यक्रम छ । सो दिन अस्पतालमा निःशुलक स्वास्थ्य सेवाहरु उपलब्ध हुने कार्यकारी प्रमुख डाक्टर सिद्धार्थ ठाकुरले जानकारी दिनुभयो ।
प्रादेशिक आयुर्वेद अस्पताल स्थापनाका वर्षहरु निकै सघर्षमय दिनहरु थियो, डाक्टर ठाकुरले भने–आज त्यहि अस्पतालले सेवाग्राहीहरुका लागि गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्ने अवस्थामा आइपुग्न सफल भएको छ । ५० सैया बेडसहितको अस्पतालले तीन वर्षपछि विशिष्ट खालका सेवा विस्तार गरिने अवस्थामा आइपुगेका छौं ।
डाक्टर ठाकुरले अस्पतालमा आवश्यक औषधी र उपकरण्का लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसंग हात्तेमालो र सहकार्यमा ल्याउन सफल भएको बताउनुभयो । डाक्टर ठाकुरका अनुसार संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आपुर्ति विभागबाट विभिन्न प्रकारका उपकरणहरु आइरहेको छ ।
उदघाटनको दिन भिडियो एक्सरे, एक्सरे, इसिजि, ल्यावका सेवाहरुसमेत निःशुल्क गर्ने प्रादेशिक आयुर्वेद अस्पतालका कविराज टेकनाथ अर्यालले जानकारी दिएको छ।
संघीय सरकारको झण्डै २० करोड रुपैया लगानीमा निर्माण भएको आयुर्वेदिक अस्पतालमा पछिल्लो समय दैनिक सय जना भन्दा बढी बिरामीले सेवा लिदै आएका छन। अस्पतालमा अन्तरंग सेवा र बिमा सेवा सञ्चालन गरेपछि बिमारीको संख्या वृद्धि हुने अस्पताल प्रशासनले जनाएको छ।
प्रादेशिक आयुर्वेद अस्पतालले १९ जना दरबन्दी गरेको छ भने आइपिडि अर्थात अन्तरंग सेवा नेपालकै लागि तेस्रो अस्पताल रहेको जनाए ।
