काठमाडौं, २३ भदौं–वरीयता मिचेर तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ति गरेपछि तेक्वान्दो खेलाडी संगिना वैद्यले उपनिर्देशक पदबाट पनि राजीनामा दिएकी छिन्। आइतबार वैद्यले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएकी हुन्।

युवा तथा खेलकुद मन्त्रालयको ठाडो निर्देशनमा घिसिङले हिजो (शुक्रबार) कराँतेका प्रशिक्षक सोवित प्रसाईंलाई निर्देशक नियुक्त गरेका थिए। ‘यो निर्णय मप्रति गरेको अपमान भएर राजीनामा दिएकी हुँ’ तेक्वान्दो खेलाडी संगिनाले भनिन्, ‘नियम र कानुनअनुसार जाने हो भने मेरो पालो थियो। तर, यहाँ हस्तक्षेप गरेर मभन्दा जुनियर ल्याएपछि सोही पदमा बस्न ठिक लागेन।’

अघिल्लो साता सेवानिवृत्त भएपछि विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको बिदाइ भएको थियो। यसपछि उपनिर्देशक रहेकी वैद्य र विष्णुबहादुर सिंहमध्ये एकको बढुवा हुनुपर्ने थियो।

तर, मन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै कोशी प्रदेशबाट प्रसाईलाई नियुक्ति दिलाएका हुन्। प्रसाईं मन्त्री चौधरीनिकट छन्। उनको कार्यकाल ६ महिनामा सकिँदै छ। त्यसअघि मन्त्रीले उनलाई निर्देशक बनाएका हुन्। राखेपबाट नियुक्ति पत्र लिए पनि उनी कार्यालय पुगेका छैनन्।

सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने संगिना पहिलो खेलाडी हुन्। सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एसियाली महासंघीय खेलकुदमा स्वर्ण पदक जितेपछि उनी राखेपको प्रशिक्षकका रूपमा कार्यरत छिन्। यदि निर्देशक पदमा नियुक्त भएको भए वैद्य तालिम तथा प्रशिक्षक विभाग प्रमुख बन्ने पहिलो महिला हुने थिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *