काठमाडौँ, ३० भदौं–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रोजगारीको सिर्जना र सुशासन कायम नहुँदा लोकतन्त्र ढल्ने खतरा रहने बताउनु भएको छ।
असोज ४ गते आयोजना गर्न लागिएको सन्देश सभाको पूर्वतयारीका निम्ति बागमती प्रदेश कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त कुरा बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘विश्वको इतिहासले के भन्छ भने जुन देशमा रोजगारी छैन र सुशासन छैन त्यो देशको लोकतन्त्र ढल्छ। तानाशाह ढलेका छन्। सत्ता ढलेका छन्। ठिक हामीले नेपालमा दोस्रो जनआन्दोलन पछि जनतालाई आशा देखाएका थियौं। त्यो आशा पूरा गर्न बाँकी छ। क्रान्तिको झिल्को बाँकी राख्नुपर्छ। समाज यसरी नै अघि बढ्न सक्दैन। कुनै पनि बेला आन्दोलन हुुन्छ। त्यसको नेतृत्व हाम्रो पार्टीले नै गर्नुपर्छ।’
साथै उहाँले नेपाली जनताले दिएको महत्वपूर्ण अवसरलाई केपी शर्मा ओलीले गुमाएको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनका निम्ति एकीकृत समाजवादीले प्रयत्न जारी राख्नुपर्नेमा जोडदिनुभयो।
बागमती प्रदेश कमिटीकी अध्यक्ष तथा केन्द्रीय सचिव सावित्रा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी उपाध्यक्ष डा।गंगालाल तुलाधर, निर्वाचन आयोग अध्यक्ष माधव पौडेल, लेखा आयोग अध्यक्ष भरत श्रेष्ठ, पार्टीका पोलिटब्यूरो सदस्यहरु, विभिन्न विभाग र जनवर्गिय संगठनका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
