राजेन्द्र लिङदेन

काठमाडौं, ३ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई प्रमाण पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।

उनले आफूहरू संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए।

‘अहिले भर्खर यहाँ बसेको बेलामा सामाजिक सञ्जालमा देखेँ। संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरूलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ।

म यहाँबाट केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो( राजेन्द्र लिङदेन। त्यसको विरोध गर्छ, विपक्षमा छ सके पक्रेर देखाओ,’ उनले भने।

उनले अराजकताभित्र भविष्य नखोजेको पनि बताए। ‘हामीले यो सरकार र ठूला पार्टीहरुलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन। यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ। त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ, अब अगाडी जानुको विकल्प छैन,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *