काठमाडौँ, ४ असोज–राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्ने सङ्कल्प फेरि दोहोर्याउँदै कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्न आफूबाहेक अरुले नसक्ने दावी गरेका छन्।
हिजो (बिहीवार) कार्लविक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्।
‘मलाई दुःख के छ भने मैले सङ्कल्प गरेको एउटा उद्देश्य पूरा भएको छ( राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापनाको, एउटा उद्देश्य पूरा भएको छैन- ‘कम्युनिस्ट पार्टीहरुको एकीकरणको‚’ उनले भने‚ ‘मेरो सङ्कल्प अहिले पनि के हो भने म ज्युँदो हुँदै एकपटक पहिलेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्छु। अहिलेको परिस्थितिमा म नलागी अरुले त्यो भूमिका खेल्न सक्नुहुन्न। उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ। म खोजी–खोजी मित्र बन्छु‚ शत्रुवत व्यवहार गर्ने छैन। त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु।’
उनले विगतमा आफ्नै प्रयासमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएको भए पनि आफूलगायत शीर्ष नेताहरुले बुद्धि पुर्याउन नसक्दा एकता नटिकेको बताए।
उनले कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प नभएको पनि बताए। उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरु आपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले मात्र एकताबद्ध गर्नसक्ने दावी गरे।

