झापा, ५ असोज–निजामति क्षेत्रसंगै प्रहरी सेवामा पनि राजवंशी जातिको पहुँच पुग्न सकेको छैन । सिपाहीमा मात्र सीमित रहेका राजवंशी जातिबाट मुश्किलले तीनजना सिनियर अधिकृत बनेका छन् ।
राजवंशी जातिबाट नेपाल प्रहरी सेवामा सवैभन्दा माथिल्लो ओहोदामा पुग्ने बाह्रदशी–५ का चन्द्र राजवंशी हुन् । उनी, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट केही वर्षअघि रिटायर्ड भएका छन् ।
त्यस्तै, हाल दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) कार्यरत छन् । प्रदेश प्रहरी कार्यालय सुनसरी धरानमा कार्यरत धनबहादुर राजवंशी र इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख पाण्डव कुमार राजवंशी प्रहरी निरीक्षक हुन् ।
राजवंशी जातिबाट प्रहरी निरीक्षक बन्ने दुवैजना मोरङ सुनवर्षी नगरपालिकाका हुन् । धनबहादुर वडा नं ३ बभनाडोव र पाण्डव वडा नं ५ झुंगी टोलका स्थायी बासिन्दा हुन् । एउटै नगरपालिकाका दुवैजनाले एउटै मिति २०५५ कार्तिक ११ गते प्रहरी सहायक निरीक्षक (असई) मा जागिर थालेका थिए । एउटै व्याजमा जागिर खाएका दुवैजना हाल एउटै तहमा छन् ।
२०७८ को जनगणना अनुसार झापा , मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी राजवंशी जातिको जनसंख्या करिव १ लाख ३५ हजार रहेको छ । राजवंशी जातिबाट प्रहरी सेवामा करिव २ सयजना लागेको अनुमान गरिएको छ । त्यसमध्ये हाल दुईजना सिनियर अधिकृत छन् भने करिव २० जना जुनियर अधिकृत (सई) र (असई) मा कार्यरत रहेको अनुमान गरिएको छ । त्यसबाहेक अधिकांश सिपाहीमा कार्यरत छन् ।
राजवंशी जातिमा प्रहरी नायव उपरीक्षक (डीएसपी) भन्दा माथि जान सक्ने अबस्था देखिदैन । यसअघि चन्द्र राजवंशी डीएसपी भएर सेवा निवृत्त भए भने हाल प्रहरी निरीक्षकमा कार्यरत पाण्डव र धनबहादुर पनि एक तहभन्दा माथि जानसक्ने अवस्था छैन ।
राजवंशी जातिबाट पढेलेखेका युवा युवतीहरु प्रहरी सेवामा नभिडेका कारण प्रहरी अधिकृतमा आफूहरुको पहुँच पुग्न नसकेको प्रहरी निरीक्षक धनबहादुर बताउँछन् । उनले प्रहरी सेवामा लाग्न आफूहरुले आफ्ना जातिलाई प्रोत्साहित गर्दै आएको जानकारी दिए ।
भूमिपुत्र भएकाले राजवंशीहरु फौजी जागिरमा दुःख गर्न नचाहेको अर्का प्रहरी निरीक्षक पाण्डवको बुझाई छ ।‘ भिड्नु पर्यो ,तालिम गर्नुपर्यो, खटाई धेरै छ’ पाण्डवले भने, ‘बाबुबाजेको पालादेखि सुखसयलमा बसेका राजवंशीहरु त्यो दुःख गर्न चाहदैनन् ।’ सम्मान र प्रतिष्ठाको हिसावले प्रहरी सेवा आकर्षक पेशा भएकाले जसरी भएपनि लाग्न दुवै प्रहरी निरीक्षकले आव्हान गरेका छन् ।
जनपद प्रहरीसंगै सशस्त्र प्रहरी र नेपाली सेनामा पनि राजवंशी जातिको उपस्थिति खासै देखिदैन । सशस्त्र प्रहरीमा जुनियर अधिकृतसम्म बनेका छन् भने नेपाली सेनामा हालसम्मकै उच्च ओहोदा कर्नेल बनेर चन्द्रगढीका चन्द्र राजवंशी रिटायर्ड भएका छन् । कोचिला न्युज
