काठमाडौं, ६ असोज–काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले उनलाई आज समेत ३ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिएको छ।
प्रहरीले आज प्रसाईंलाई उनको निवासबाटै नियन्त्रणमा लिएको थियो। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो।
यसैगरी प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ। प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
मेडिकल व्यवसायी प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो।
प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।

