काठमाण्डौं, ९ असोज–भोली (बिहीबार) देखि ४ दिन वर्षा अझ बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गरी सो अवधिमा वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।
साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ। साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन÷चट्याङसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।
साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज १२ गते (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ।
यस्तै महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ। बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
यी जिल्ला उच्च जोखिममा
महाशाखाका अनुसार विभिन्न ५६ जिल्लालाई रेड जोनमा राखेको छ। ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ। यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन्।
यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन्। गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन्।
यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ।
