पाडाजुङ्गी (कमल), ९ असोज–झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पुजा सामाग्री उद्योगले दशैका लागि जमरा राख्न बीउको प्याकेट बजारमा ल्याएको छ ।
स्वदेशी पुजा सामाग्रि उत्पादन गर्दै आएको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रा।लि। अर्थात पुजा सामाग्रि उद्योगले मकै, गहुँ र जौ मिश्रीत जमराको बीउ बजारमा ल्याएको हो ।
दमकसहित झापा, मोरंग र सुनसरीका विभिन्न चोक तथा शहरहरुमा खुलेका पुजा पसलहरुमा दशैको घटस्थापनाको दिन राख्न दिब्यदृष्टि ब्राण्डको जमरा बिउ बजारमा ल्याईएको सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताउनुभयो ।
शहर बजार तथा गाँउघरमा समेत मकै, गहुँ र जौ खोज्दै हिड्नु पर्ने अवस्था नआओस भनेर गत बर्षदेखि नै जमरा बीउ र शतबीजसमेत बिक्रीका लागि ल्याउन सुरु गरिएको सञ्चालक पोखरेलले जानकारी दिनुभयो ।
दिब्यदृष्टि पुजा उद्योगले जडिबुटिको हवन सामाग्रि, नवग्रह समिधा, गौ अर्क, सप्तधान्य, बाटेको धुप, दिब्य समिधा, जौको पिठो, बाटेको धुपमा प्रयोग हुने धुप मसला, गंगाजल, सप्तमृतिका, पञ्चरन्त, सर्वोषधि लगायतका एकदर्जनभन्दा बढि पुजा सामाग्रिहरु प्रशोधन र उत्पादन गर्दै आएको उद्योगकी संचालिका बविता तिम्सिनाले बताउनुभयो ।
