काठमाडौँ, १४ असोज–नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत गर्ने भएको छ ।

उमेरको हदबन्दी लगाउनु पर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानबाटै हुनेछ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले भने, ‘सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनु पर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प हुनेछ । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।’

अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पूरै लोकतान्त्रिक विधि अपनाइने उनले बताएका छन् । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । यस्तै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरु एकमत छैनन् ।

त्यसैले सोमबार बिहान अखिल क्रान्तिकारीको फ्र्याक्सन इञ्चार्ज हिमाल शर्मासहित पदाधिकारीहरु पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए । सो छलफलमा अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘आउने चुनाव पार्टी एक्लै आफ्नै शक्तिमा लड्दैछ । तपाईहरु यता होइन उता आफ्नो निर्वाचन क्षेत्र र पालिकामा खटेर लाग्नुस् । मेहनत गरेर पार्टी बनाउनुस्, तपाईहरुको जिम्मा पार्टीले लिन्छ । राजनीतिक भविष्यको चिन्ता नगर्नुस्, चुनाव लड्ने तयारी गर्नुस् पार्टीले टिकट दिन्छ ।’

बिहीबारदेखि सुरु भएको २३औं सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो । अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उमेर हदबारे निर्णय लिने भएको छ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० र ३२ बर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ । सम्मेलनले अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौं आकांक्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।

सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकांक्षी छन् । बिहीबारदेखि सुरु भएको यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *