उदयपुर, १६ असोज–कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुंगा हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलवार उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले गरेको क्षतिबारे अनुगमन गर्न गएकी राज्यमन्त्री राई सवार गाडीमा राति अज्ञात समुहले आक्रमण गरेका थिए ।
बाढी पहिरोपछिको अवस्था र उद्धार तथा राहतको विषयमा अनुगमनमा पुगेर फर्किने क्रममा राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले सडक अवरुद्ध गरी ढुंगा प्रहार गरेको थियो।
सो घटना घटेको करिब १३ घण्टामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो।
पक्राउ परेको ६ जनालाई इलाका प्रहरी कार्यालय उदयपुर रामपुर ठोकसिलामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेकाले तत्काल पक्राउ पर्ने ६ जनाको नाम प्रहरीले सार्वजनिक गर्न चाहेन।
अन्य समय पनि यस्ता खालका गतिविधिहरु गर्ने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए।
‘उनीहरु आपराधिक मनसायका मान्छेहरु हुन्, अरु नै गाडी आयो भनेर बाटो छेक्न खोजेका रे१‚’ एसपी योगीले भने, ‘मन्त्रीज्यूको गाडी भनेर थाहा रहेनछ, ढुंगाले हान्दा गाडीमा लागेको छ।’
प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा उदयपुरको बेलका नगरपालिका–८ मा राति १० बजे उनीहरुले ढुंगा हानेको एसपी योगीले पुष्टि गरेका छन्। अनुगमनका लागि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई पनि पुगेका थिए।
