दमक, १७ असोज–कमल गाउँपालिकाको नयाँ प्रशासनिक कार्यालय भवन बनिने भएको छ । आज घटास्थापनाको विशेष अवसर पारेर कमल–२ क्याम्पामा नयाँ प्रशासनिक भवनको शिलान्यास गरेको हो । सो भवनको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शिलान्यास गरे ।

गाउँपालिका परिषरमा निर्माण हुने प्रशासनिक भवनको भ्याटसहित कुल लागत रु ६ करोड १३ लाख ९ हजार ७ सय ४३ रुपिया रहेको छ । तीन तले निर्माण हुने सुविधासम्पन्न भवन निर्माणको जिम्मा सारासृष्टि निर्माण सेवा प्रालिले पाएको छ । भवनको काम दुई वर्षभित्रमा पूरा हुने संझौतामा उल्लेख छ ।

भवन शिलान्यास गर्दे अध्यक्ष राईले हालको प्रशासनिक कार्यालय असहज हुदैआएकाले नयाँ भवन निर्माण कार्य थालिएको बताए । नयाँ भवन निर्माण सम्पन्नपछि पालिकाको दैनिक कार्यसम्पादनमा सघाउँ पुग्ने उनको भनाई थियो । प्रशासनिक भवन बनाउनका लागि सहमति जुट्न नसक्दा हालको भवनमानै लामोसमयदेखि दैनिक कामकाज हुदै आएको थियो । प्रशासनिक भवन बनाउन गाउँ कार्यापालिकाको बैठकले निर्णय भएपछि विधिवत शिलान्यास गरिएको पालिकाले जनाएको छ ।

भवन शिलान्यास कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, कमल १ का वडाअध्यक्ष केदार कटुवाल, २ का वडाअध्यक्ष अशोक सुब्बा, ३ का अध्यक्ष अग्नी कोइराला, ४ का अध्यक्ष चन्द्र भट्टराई, नेपाली कांग्रेसका कमल सभापति खगेन भण्डारी, नेकपा एमालेका कमल अध्यक्ष हरि ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल अध्यक्ष केदार चापागाई, कर्मचारी,जनप्रतिनधिहरु लगायतको उपस्थति रहेको थियो ।

लखनपुरका जनप्रतिनिधिहरु शिलान्यासमा गएनन्
साविक लखनपुर खण्डका जनप्रतिनिधिहरु भने शिलान्यास कार्यक्रममानै सहभागि भएनन् । साविक लखनपुरमा पर्ने कमल ५ वडा अध्यक्ष एलवी विष्ट, ६ का अध्यक्ष नरेन्द्र भट्टराई र कमल–७ का वडाअध्यक्ष पृथ्वीपति राई कार्यक्रममा उपस्थित भएनन् ।

लखनपुर गाविस क्षेत्रतर्फबाट पालिकामा हालका अध्यक्ष र उपाध्यक्ष नेतृत्व तहमा छन् ।

पालिकाको प्रशासनिक भवन बनाउने विषयमा लखनपुर खण्डका वडाअध्यक्षहरु आन्तरिक रुपमा असन्तुष्ट हुदैआएका थिए । त्यही कारण प्रशासनिक भवन बनाउने औपचारिक शुभारम्भ कार्यक्रममा त्यस भुगोलका जनप्रतिनिधिहरु सहभागि नभएको बताईएको छ ।

साविक लखनपुरबाट प्रतिनिधित्व गर्ने कमलका जनप्रतिनिधिहरुले हालको पालिका मुख्यालय अभेग मात्र नभएर क्षेत्रगत रुपमा उपयुक्त नभएको भन्दै गुनासो उठाउदैं आएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *