काठमाडौं, २१ असोज–बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी (चौथी)। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि छ। समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदय हुँदा रहेको तिथिको आधारमा सोमबार चतुर्थीकै कर्म गर्न लागिएको हो। यद्यपि आइतबार पूरै अर्थात् ६० घडी नै चतुर्थी थियो। सोमबार बिहान ६ बजेर १६ मिनेटपछि पञ्चमी लाग्छ।

कतिपयले भने सोमबार नवरात्रको पाँचौँ दिन भएकाले पञ्चमीमा गर्ने कर्म नै गर्नुपर्ने तर्क गरेका छन्। उनीहरूका अनुसार स्कन्दमाता देवीको पूजा(आराधना गर्नुपर्छ।

नवरात्रको चौथो दिन पूजा गरिने देवी कुष्माण्डा नवदुर्गा भगवतीकी चौथो रूप हुन्। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र र गदा आदि शस्त्र(अस्त्र छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विविध प्रकारका कष्ट निवारण हुने बताइन्छ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गा भगवतीका एक(एक स्वरूपको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली(महालक्ष्मी(महासरस्वतीको पनि आराधना गरिन्छ। प्रत्येक दिन एक(एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय(समयमा विभिन्न रूप लिएको बताइन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *