दमक, २० असोज–पहिचानको आन्दोलनमा शसस्त्र प्रहरीको गोली लागेर शहीद हुनुभएका राजकुमार आङदेम्बे ‘माङेतोक’को १७औं स्मृति दिवसको अवसर पारेर दमकमा पहिचानवादी शक्तिहरुबीच विमर्श कार्यक्रम गरिएको थियो ।
शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ तथा मनिल तामाङ स्मृति प्रतिष्ठानले आइतबार दमकमा आयोजना गरेको विमर्श कार्यक्रममाथि पहिचानवादी नेता तथा पूर्वमन्त्री गोपाल किराँती लगायतका नेताहरुले कोशी प्रदेशविरुद्ध र आगामी आन्दोलनका बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा र पहिचानबादी नेतासमेत रहनुभएका पूर्वमन्त्री गोपाल किराँतीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री किराँतीले साँस्कृतिक पहिचान बिना आन्दोलन सफल हुन नसक्ने बताए । नेता किराँतीले बहुसंख्यक जातीको साँस्कृतिक अधिकार र पहिचानलाई स्थापित नगरेसम्म अवको आन्दोलनको कुनै अर्थ नरहने बताए ।
पहिचानवादी मोर्चा सदस्य सचिव समेत रहेका नेता किराँतीले पहिचानको आन्दोलनलाई जातीबादी भन्न नहुने तर्क गरे । उनले उत्पीडित र पिछाडी पारिएका वर्ग र समुदायप्रति थप दमन गरेर भाषिक र साँस्कृतिक पहिचानलाई निमोट्याउन गराउने षड्यन्त्र भएको बताए । पहिचानको आन्दोलन कुनै उत्पीडित जातीको मात्र नभई यो समग्र राष्ट्रको आन्दोलन हो, े नेता किराँतीले भने । उनले विभेद, असमानता भएको समाज असभ्य हुने भन्दै किराँतीले पहिचानको आन्दोलन समाजलाई सभ्य बनाउने अभियान भएको स्पष्ट पारे ।
सो कार्यक्रममा अर्का पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले पहिचानको आन्दोलनलाई होच्याउने एमाले–कांग्रेससहितका अन्य राजनीतिक दल वा शक्तिहरुलाई खबरदारी गर्दै आगामी आन्दोलनमा व्यापक जनसहभागिता हुनपर्नेमा जोड दिए ।
यस्तैं, कार्यक्रममा पहिचानवादी मोर्चाका नेता अशोक चेम्जोङ, किरात राई यायोक्खाका उपमहासचिव एबम् पत्रकार अर्जुन जम्नेली राई, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव पदम अधिकारी, नेता प्रेमदीप थाम्सुहाङ, नेता लोकसागर साम्बा, जसपा झापाका अध्यक्ष दिपेनबाला राई, जनमुक्ति पार्टीका उपाध्यक्ष मनु खेवाङ, पहिचानवादी मोर्चाका सदस्य बाङगाई धिमाल, गंगा शेर्मा राई, शर्मिला आङ्देम्बे, अग्नीमाया मेचे, पुर्णकला, महेन्द्र चाम्लिङ, गजेन्द्र लिम्बू लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए ।
दमकस्थित होटल स्वर्गलोकमा आयोजित सो कार्यक्रममा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष एबी पन्धाकले स्वागत मन्तव्य राख्नुभएको थियो भने पहिचानवादी मोर्चाका सदस्य केदार धिमालले सञ्चालन गर्नुभएको थियो ।
