दमक, २५ असोज–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाललाई आज बिहान गृह नगर दमकमा स्वागत तथा सम्मान गरिएको छ । दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले दमकमा आयोजना गरेको कार्यक्रममा मन्त्री दाहाललाई स्वागत अनि सम्मान गरेको हो ।

दमक–२ का वडाअध्यक्ष समेत रहनुभएका यातायात तथा ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापासहित यातायात तथा ट्राफिक व्यस्थापन समितिका अध्यक्ष सापकोटा, समितिका पदाधिकारी र सदस्यहरुले स्वागत अनि सम्मान गरेका थिए ।

सो अवसरमा मन्त्री दाहालले हालसालै भएको भारी बर्षा र बाढी पहिरोका कारण ठाउँठाउँमा भएको सडक अवरोध खुलाएर मन्त्रालयले सहजताको वातावरण बनाएको उल्लेख गरे ।

मन्त्री दाहालले सडक अवरोध खोल्न मात्रै २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अवस्था रहेको र अथक मेहनत र परिश्रमबाट देशभर क्रमश सहज वातावरण बन्दै गएको बताए । उनले भत्किएका पूल तथा सडकहरुको पूर्ण रुपमा निर्माणका लागि देशभर झण्डै २० देखि २५ अर्ब रुपैयाँ लागत लाग्ने मन्त्रालयले प्रक्षेपण गरेको जानकारी दिए ।

सो अवसरमा मन्त्री दाहालले गणतन्त्रात्मक व्यवस्था ल्याउन भएको जनआन्दोलनको भावना र मर्म अनुसार दलहरुले पनि भुमिका खेल्दै मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने साझा संकल्प गर्नुपर्ने पनि बताए ।

समितिका उपाध्यक्ष एबम् नेपाली कांग्रेसकी नेत्री मन्दरा पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा दमक प्रहरी प्रमुख डिएसपी निशान थापा, दमक ट्राफिक प्रहरी प्रमुख नारायण भट्टराई, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक–८ का अध्यक्ष दिपेश दाहाल, दमक–९ का अध्यक्ष कुबेर भट्टराई लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *