काठमाडौं, २९ असोज–इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् ।
संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको नेपाली सेना उच्च स्रोतले बताएको हो । यद्यपि, यो प्रोटोकल कति लामो समयसम्म रहन्छ भन्ने खुलाइएको छैन ।
जंगीअड्डाका अनुसार, लेबनानमा ८७७ नेपाली सैनिक रहेपनि २७ जना हेडक्वार्टरमा विभिन्न तहमा कार्यरत् छन् ।
‘बाहिरको अवस्था अनुसार, यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने, नपाइने भन्ने मापदण्ड नै बनेका छन’, एक सैन्य अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौजले बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिँड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा अपरेशनल गतिविधि भने ठप्प रहने छ ।
इजरायली डिफेन्स फोर्स ९आईडीएफ०ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै १५ असोजबाट स्थल कारबाहीसमेत थालेको छ ।
इजलायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउनसमेत चेतावनी दिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ ।
यसले तनाव बढेको छ । शुक्रबार हवाई आक्रमणका क्रममा श्रीलंकाका दुईजना शान्ति सैनिक घाइते भएका थिए । नेपाली सैनिक अधिकृतहरुले भने शान्ति सेनालाई लक्षित गरेर कारबाही नगरिए पनि आसपासमा फायरिङ हुँदा त्यसको केही प्रभाव शान्ति सैनिक खटिएको इलाकामा पनि परेको विश्लेषण गरेका छन् ।
‘स्थल कारबाही हुँदा युद्धरत् दुवै पक्षले शान्ति सैनिक रहेको वरिपरिको इलाका प्रयोग गर्न खोज्छन्, त्यस्तोमा दुई पक्षबीच तनाव हुँदा शान्ति सैनिकले प्रयोग गर्ने पोष्ट अथावा बाहिर बस्ने टोलीलाई प्रभाव पर्नसक्छ’, एक उच्च सैनिक अधिकारीले भने, ‘नियतवश शान्ति सैनिकलाई नै लक्षित गर्ने काम हुँदैन भन्ने बुझाई हो ।’
लेबनानको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल ९यूनिफिल०ले शनिबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित घटनाक्रममा पाँच जना शान्ति सैनिक घाइते भएको पुष्टि गरेको छ । त्यसैले संयुक्त राष्ट्रसंघले सोमबारदेखि शान्ति सैनिक खटिएको क्षेत्रमा ‘लेभल थ्री’को सुरक्षा प्रोटोकल लागू गर्ने निर्णय हो ।
