काठमाडौं, ३० असोज–तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ।

पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ बजेर २३ मिनेटसम्म पूर्णिमा रहन्छ।

बिहीबार अपराह्नपछि पूर्णिमा तिथि नभएकाले बुधबार नै कोजाग्रत पूर्णिमा मनाउन निर्देश गरेको समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले बताए।

कोजाग्रत पूर्णिमामा दिनभर उपवास बसी रात्रिमा धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ। रातभर जाग्राम बसी देवी लक्ष्मीको पूजाअर्चना गर्ने विधि उल्लेख छ।

नेपाली सनातन समाजमा विजयादशमीदेखि शुरु भएको टीका जमरा लगाउने क्रम पूर्णिमाकै दिन सकिन्छ। कोजाग्रत पूर्णिमाका दिन बिहान जमरा विसर्जन गर्ने परम्परा पनि छ। तर यो वर्ष दिनभर पूर्णिमा तिथि रहेकाले बिहीबार पनि टीका लगाउन सकिने बताइएको छ।

वैदिक कालगणनाका अनुयायीले भने तिथि नटुट्ने मान्यताअनुरूप बिहीबार नै कोजाग्रत पूर्णिमाको विधि गर्दैछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *