बुटवल, ३० असोज–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेपालका राजनीतिक दलहरूलाई दलाल पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द ुविप्लवु बाट सिक्नुपर्ने बताउनु भएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढीमा गरिरहेको सामूहिक धान खेती अवलोकन गर्न पुग्नु भएको महासचिव भुसालले दलहरूले विप्लवबाट सिक्नुपर्ने बताउनु भएको हो।
‘पार्टीलाई सामूहिक उत्पादनमार्फत आत्मनिर्भर बनाई चन्दामुक्त बनाउने संकल्पका साथ विप्लवले गरिरहेको सामूहिक खेती प्रणाली नेपालका दलहरूलाई गतिलो पाठ हो,’ महासचिव भूसालले भन्नु भयो ।
विप्लवको निवास समेत रहेको सो ठाउँमा नेकपाको केन्द्रीय उत्पादन विभागले ५ बिघामा धान खेती गरेको छ । धानसहित सबै खेती लगाउनेदेखि भित्राउनेसम्मका काम पार्टी नेता र कार्यकर्ताले गर्दै कम्युन शैलीको झल्को दिइरहेका छन् । दशैंको टिकाको दिन समेत विप्लवसहित नेता कार्यकर्ताले धान काटेका थिए ।
