काठमाडौँ, ३० असोज–सत्ता साझेदार नेकपा एमालेको केन्द्रीय कार्यालय (मुख्यालय निर्माण) का लागि व्यवसायी मीनबहादुर गुरुङले १ अर्बभन्दा बढीको जग्गादान दिँदै कार्यालय भवनसमेत बनाइदिने भएपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसमाथि आशंका व्यक्त गर्दै यसको जवाफ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले दिनुपर्ने माग गरेका छन्।
सत्ता साझेदार दल नेकपा एमालेको पार्टी मुख्यालय बनाउन व्यवसायी गुरुङले गरेको सहयोगको शर्माले विरोध गरेका हुन्। उनले १ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताए।
‘एमाले पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्न एकजना सुपरिचित व्यवसायीले १ अर्ब रुपैयाँभन्दा बढी पर्ने जग्गा खरिद गरिदिनुभएको अनि भवन पनि उहाँले नै निर्माण गरिदिने भन्ने घोषणा गर्नुभएको विषय अहिले निकै बहस, चर्चामा, विवादमा परेको छ‚’ उनले भने, ‘यति ठूलो रकमको विषय आउँदा स्वाभाविक रुपमा यसको जवाफ दिनुपर्ने दायित्व एमाले पार्टीकै हो र सम्माननीय प्रधानमन्त्रीज्यूको हो। मैले सोध्नुपर्ने यति मात्रै छ कि स्वयं सम्माननीय प्रधानमन्त्री उपस्थित भएर उहाँको दलले जग्गा, भवन पनि लिने तयारी गरेर जे प्रश्न उब्जिएको छ त्यसले उहाँको दललाई मात्रै होइन, राजनीतिप्रति प्रश्न उब्जिएको छ‚ कस्तो राजनीति हामी बनाउन चाहन्छौँरु’
उनले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वाभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको बताए। प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको उनले बताए।
उनले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभइ राजनीतिमाथि प्रश्न उब्जिएको बताए। कस्तो राजनीति र कस्तो राजनीतिक दलहरु बनाउन चाहेको हो भन्ने प्रश्न उठेको उनले बताए।
व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नु राम्रो भए पनि १ अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गरे। उनले राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सिमानाबारे सोच्नैपर्ने अवस्था देखिएको बताए।
आफ्नो दलको कार्यालय आफ्नै पार्टीका नेतारकार्यकर्ता मिलेर बनाउनुपर्ने बताए। राजनीतिक दलले पार्टी कार्यालय पार्टीको परिवारबाट बनाउँदा नै बढी अपनत्व हुने उनले उल्लेख गरे।
महामन्त्री शर्माले सबैको मन गाँसेर र साथमा लिएर बनाउन सुझाव दिए। उनले प्रधानमन्त्री ओलीले नागरिक पंक्तिलाई यसबारेमा स्पष्ट पार्न जरुरी रहेको बताए।दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारीसमेत लिएका छन्।
पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेतारकार्यकर्ताहरुले नै नेतृत्वको विरोध गरेका छन्। अधिकांशले जग्गा फिर्ता गर्न र आफैँ पार्टी कार्यालय निर्माण गर्न आग्रह गरेका छन्।

