ललितपुर, २ कार्तिक—केही वर्षयता विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । तर ‘चार्जिङ स्टेसन’ कम भएका कारण भने चार्जिङमा समस्या हुन थालेको सवारी धनी र चालकले गुनासो गर्न थालेका छन् ।

सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीहरूले सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा पर्याप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक खण्डमा सवारीसाधन चार्ज गर्न घण्टौँ लाइनमा बस्नुपरको, जङ्गल क्षेत्रमा रहेका चार्जिङ स्टेसनमा गुणस्तरीय होटल तथा शौचालयसहित आधारभूत आवश्यकता नभएको तथा सरकारीको तुलनामा निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन करिब दुई गुणासम्म महँगो भएको उनीहरूको गुनासो छ ।

यात्रु ममता राईले भनिन्, ‘जङ्गल क्षेत्रमा गाडी चार्ज गर्नका लागि बिजुलीको व्यवस्था भए पनि आधुनिक शौचालय, गुणस्तरीय परिकारसहितको होटल र भरपर्दो सुरक्षा व्यवस्था नभएकोलाई त्यसतर्फ सम्बन्धित पक्षले तत्काल ध्यान दिन आवश्यक छ ।’

विद्युतीय सवारी साधनमा सञ्चालन खर्च कम भए पनि डिजेलवाला सवारी साधनको जस्तै गरी महङ्गो भाडा तिर्नुपर्दा ठगिएको महसुस हुने गरेको धारणा व्यक्त गर्दै हेटौँडा निवासी ललितबहादुर थिङले साविक उठाउँदै आएको भाडा दर घटाएर यात्रुलाई राहत दिन सरकार एवं सम्बद्ध व्यवसायीसँग अनुरोध गरे ।

वीरगञ्जका सवारी चालक रोहित साहले भने, ‘सरकारी चार्जिङ स्टेसनमा एक युनिट बिजुलीको मूल्य चार रुपैयाँ छ भने निजी क्षेत्रकोमा आठ रुपैयाँसम्म पर्दछ, यसले सरकारी स्टेसनहरुमा भीड बढाएको छ, लामा रुटमा चल्ने विद्युतीय सवारी साधनले बेग्लै खालको समस्या झेल्नुपरेको छ, त्यसतर्फ राज्यपक्षको ध्यान जान आवश्यक छ ।

विराटनगरका चालक प्रेम आलेले भने, ‘गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरो सडक बिगारिदिँदा यसअघि चल्तीको बिपीमार्गमा गाडी चलाउन गाह्रो छ, अहिले देशको पूर्वी क्षेत्रतर्फ जाने गाडीहरु चार्जिङ स्टेसनरहित कान्तिराजमार्ग हुँदै गुडिरहेका छन्, सो सडक खण्डमा पनि सरकारी चार्जिङ स्टेसनको व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *