काठमाडौं, ३ कार्तिक–दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य लामो समय नजाने आशंकाको बादल राजनीतिक वृत्तमा मडारिएको छ। स्थायित्वका लागि संविधान संशोधनसमेत गर्ने भनेर मिलेका कांग्रेस(एमाले सरकार ‘हनिमुन पिरियड’ नै पूरा नगरी धर्मराएको हो।
पटकपटक आफ्नो कार्यकाल तोक्ने र वर्तमान सत्ता गठबन्धन लामो समय जाने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको दाबीले आशंका पैदा गरिरहेका वेला पछिल्लो सयम विमतिका विषय छरपष्टिएका छन्। यद्यपि सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा कड्किएपछि ओली केही लचक बनेका छन्।
स्रोतका अनुसार सहकारी प्रकरणमा संसदीय विशेष समितिले कारबाहीको भागीदार बनाएको रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा कांग्रेस(एमालेबीच पहिला मतैक्य थिएन। तर सत्ता गठबन्धन बचाउनकै लागि ओली लचक बनेपछि शुक्रबार रवि पक्राउ परेका हुन्।
कांग्रेस शुरुदेखि नै सहकारीको रकम अपचलनमा रविको संलग्न रहेको दाबी गर्दै सडकदेखि सदनसम्म उत्रिएको दल हो।
‘रविको पूर्ववकिल जस्तो गरी महान्यायाधिवक्ताले जे निर्णय गरे र जसरी प्रस्तुत भए त्यसले शंकाको वातावरण बनेको थियो। तर अब रविजीले छल्ने वा उन्मुक्ति पाउने अवस्था छैन’, कांग्रेसका एक नेताले थाहा खबरसँग भने, ‘संसदीय समितिले दिएको रिपोर्ट कार्यान्वयनमा गइसकेकाले रिजल्ट देखिँदैछ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई रवि पक्राउ नगरे सरकार नै छाड्नेसम्मको चेतावनी कांग्रेस सभापति देउवाले दिएको चर्चा राजनीतिक वृत्तमा छ।
रविका सन्दर्भमा तत्काललाई कुरा मिले पनि दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने विषयमा पनि कांग्रेस(एमालेबीच मतैक्य छैन। केही साना दल विभाजन गरेर संसदको ठूलो दल बन्ने ओलीको रणनीतिमा देउवा तयार छैनन्।
‘अध्यादेश ल्याउने कुरामा एमालेको एउटा भनाइ र कांग्रेसको अर्को भनाइ छ’, कांग्रेसका ती नेताले भन्छन्, ‘कांग्रेस अहिले यसबारे धेरै अगाडि सरेको छैन र अहिल्यै नै यसमा कांग्रेस त्यो ढंगले प्रस्तुत हुँदैन। त्यसो हुँदा तुरुन्तै अध्यादेश आउँदैन।’
निर्वाचनसँग सम्बन्धित भएकाले तालुकदार मन्त्रालय गृह र कानुन मन्त्रालय दुवै कांग्रेससँग छ। यसैको बलमा ओलीको रणनीतिमा ‘ब्रेक’ लगाउने दाउ कांग्रेसको छ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका क्रममा अर्बौँ दान लिन एमाले तयार भएकोप्रति पनि सत्ता साझेदार कांग्रेस असन्तुष्ट छ। महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले यसअघि नै यसबारे आपत्ति जनाएका छन्।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विवादित व्यक्तिबाट स्वार्थ बाझिनेगरी ठूलो परिमाणको सहयोग लिनु अस्वाभाविक ठान्छन्।
‘हिजो कांग्रेसकै कार्यालय कुनै एक व्यक्तिले बनाइदिन्छु भन्दा विम्रतापूर्वक अस्वीकार गरिएको थियो’, उनी भन्छन्, ‘अहिले एउटा कन्फ्लिक्ट अफ इन्टरेस्ट हुने गरी लिने, त्यसमाथि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा स्वयं प्रधानमन्त्रीका दललाई नै दिने कुरा बिलकुल स्वाभाविक छैन। यो विषयमा एमालेभित्रै पनि विमति आइरहेकै छन्।’
उता, कांग्रेसको इतर समूहले शुरुदेखि नै सरकारको आलोचना गर्दै आएको छ। संस्थापन पक्षकै नेताहरूको पछिल्लो अभिव्यक्ति सरकारको कामप्रति सन्तुष्ट सुनिँदैनन्।
विपक्षी दलहरूको बैठकमा सरकारमा रहेकै दलहरू नै सहभागी हुनुले पनि सत्ता गठबन्धन सहजताका साथ बढेको छैन भन्ने प्रष्ट्याउँछ। सरकारमा रहेका दलहरू लोसपाका अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ शुक्रबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएका बैठकमा पुगेका थिए। यद्यपि ठाकुरले आफूहरूलाई झुक्याएर विपक्षी दलको बैठकमा बोलाइएको प्रतिक्रिया दिएका छन्।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पछिल्लो समय देखिएको खटपटले कांग्रेस एमाले गठबन्धन लामो समय नजाने स्पष्ट संकेत गरेको बताउँछन्। प्रधानमन्त्रीले नै बारम्बार ‘गठबन्धन टुट्दैन’ भनेर अनावश्यक दाबी गर्नुले आशंका उब्जाएका बेला देखिएका एकपछि अर्को विषयले दुईतिहाइ शक्तिशाली सरकारको आयुमाथिको आशंकामा थप बल पुर्याएको उनको बुझाइ छ।
‘पहिलो कुरा कांग्रेस एमाले मिल्नुको बलियो रसायन हिजो नै थिएन। एकले अर्कालाई निषेध गरिरहेका पार्टी हुन् यी। उनीहरू सत्ता स्वार्थले मात्र मिलेका हुन्’, उनी भन्छन्, ‘गठबन्धनमा खटपट हुनु अस्वाभाविक त होइन, तर यो गठबन्धन पछिल्ला समय जे जस्ता इस्युहरू देखिएका छन्, यसले लामो समय जाला भन्ने देखिँदैन।’
विश्लेषक श्रेष्ठ धेरै घटनाक्रमले कांग्रेस(एमालेको सहकार्य धेरै समय नजाने देखिएको तर्क गर्छन्। ‘प्रधानन्त्रीले बारम्बार किन भनिराख्नुपरेको गठबन्धन ठिक छ। लामो समय जान्छ। मेरो कार्यकाल यति भनेर रु यो भनेको के हो भने आफूहरू भित्रको आशंका र अविश्वास हो नि१ मिलिरहेको कुरालाई त भनिराख्नै पर्दैन’, उनी थप्छन्, ‘आज ९शुक्रबार० भएको बैठकै हेरौँ न। सत्ता गठबनधनमा रहेका दलहरू उता किन गए त रु यसले पुष्टि गर्छ गठबन्धनभित्रको अवस्था ठिक छैन। महन्थ ठाकुर जस्ता पाका र परिवक्व मान्छे क्याम्प छोडेर उता गए भने यस्तो धेरै घटनाले मिल्ती लामो समय नजाने देखाउँछ।’
तर कांग्रेस(एमालेका नेताहरू भने प्रधानमन्त्री ओलीकै भनाइ दोहोर्याउँछन्। कांग्रेस नेता शिवाकोटी सत्ता गठबन्धनमा रहेका केही साना दलहरू विपक्षी दलको बैठकमा जानुलाई नै सामान्यरूपमा अर्थ्याउँछन्। कांग्रेस(एमाले सँगै रहेसम्म साना ती साना दलका महत्त्व धेरै नभएको उनको भनाइ छ।
उनी भन्छन्, ‘यसमा के छ भने पहिलो कुरा त लोसपा र नाउपा जस्ता पार्टीको सरकरमा हुनु नहुनुको खास अर्थ छैन। त्यसमाथि लोसपा र नाउपा आफैँमा एकमत छैनन्। विवादबीच जानुभएकाले जो बैठकमा जानुभयो। उहाँहरूले पार्टीको अन्तरद्वन्द्वका कारण पूरै मतलाई प्रतिनिधत्व गर्नुहुन्छ कि हुँदैन भन्ने पनि हो।’
तर यी पछिल्ला समय सत्ता गठबन्धनभित्र देखिएको विमति सहकार्यमै ‘ब्रेक’ लाग्ने ठाउँसम्म नपुग्ने नेता शिवाकोटी बताउँछन्। ‘जे भए पनि अहिलेकै अवस्थामा बाहिर जे हल्ला र चर्चा भए पनि यो गठबन्धन तोडिँदैन’, पटकपटक प्रधानमन्त्रीले गठबन्धन टुट्दैन भनेर दिएको अभिव्यक्तिबारे उनी भन्छन्, ‘स्वाभाविक रूपमा बाहिर ठूलो चर्चा चलाइएको छ यो गठबन्धनविरुद्ध। त्यसकारण त्यसलाई काउन्टर गर्न जरुरी ठान्नुभयो। त्यही कुरा दोहोर्याउनुभएको होला।’
सरकारको नेतृत्व गरिरहेको दल एमाले पनि दुबै दल पूर्वप्रतिबद्धतामा अडिग रहेकाले सहकार्य लामो समय जाने बताउँछ। एमाले सचिव पद्मा आर्याल बाहिर हल्ला चलाइँदैमा कांग्रेस एमाले सहकार्य नटुट्ने जिकिर गर्छिन्।
‘छिटफुट रुपमा कुनै घटनालाई जोडेर एकाध मान्छे बोलेका कुरा निजी धारणा हुन्। त्यसलाई आधार मानेर सत्ता गठबन्धनमा संकटै पर्यो भन्नु गलत हो। कुनै संकट छैन। हामी एकअर्काबीच थप विश्वास पैदा गर्दै जुन सहकार्य छ, यसलाई अझ सुदृढ बनाउँदै अघि बढ्छौँ’, उनी भन्छिन्, ‘कांग्रेस एमाले सहकार्य पूरा कार्यकाल जान्छ।’
