काठमाडौं, ४ कार्तिक–इङ्ल्याण्डका कप्तान हेरी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा स्टटगार्टमाथि शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बायर्नले स्टटगार्टमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
बायर्नको जितमा केनले ह्याट्रिक पूरा गरे । एक गोल कोमनको नाममा रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो ।
खेलको ५७औं मिनेटमा केनको गोलमा बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको ६० र ८० औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोमनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
