दमक, ४ कार्तिक–झापाको पूर्वी नाका काँकडभिट्टाबाट १३ ग्राम ब्राउनसुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् ।
मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेपलाञ्चोकको साबिक गाबिस भिमखोरी–८ बस्ने २६ वर्षीय होमकुमार मैनाली आज (आइतबार) काँकडभिट्टाबाट पक्राउ परेका हुन् ।
गएराति ९ः३० बजे मेचीनगर– ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आईरहेका मैनालीलाई गरेको हो ।
उनलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लाष्टिकबाहेक १३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
