काठमाण्डौ, १४ कार्तिक–नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

सात वर्षअघि सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेकोमा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको उनले बताए। शाखाका प्रमुख डा। दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए ।

डेङ्गी सङ्क्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । अहिलेसम्म देशभर २८ हजार दुई सय १२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।

वर्षाका बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो । डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *