काठमाडौँ, ९ असोज–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।

आज (बिहीवार) राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्। उनले आफूले नेतृत्व छोडे पनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रूपान्तरणको अभियानमा सधैं रहिरहने बताए। उनले राजनीतिक दलहरूभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनीतिक शक्ति र युवा पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।

उनले प्रमुख तीन परम्परागत दलका शीर्ष नेताहरू प्रचण्ट, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरूले मुलुकलाई असफल बनाएको टिप्पणी गरे। उनले मुलुकमा सुशासन कायम गर्न जेनजी विद्रोह जायज भए पनि केही नेता र बाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी गरे।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरूलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए। उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए।

निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरूले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताए।

भट्टराईले भने, ‘नयाँ पुस्तालाई अवसर दिन मैले पद परित्याग गरेको हुँ। अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ। त्यसकारण पनि दलहरूमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ। पुराना तीन दलका तीन भ्रष्ट पात्रहरूले जसरी मुलुकलाई यस्तो बनाए उनीहरु विरुद्धको जेनजी विद्रोह जायज थियो। भ्रष्ट नेताहरूले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ। अहिलेसम्म भएका भ्रष्टाचारका काण्डको छानबिन गर्नुपर्छ।’

उनले जेनजी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *