विराटनगर, ११ असोज–जेन–जी पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरूको नेतृत्व पुनर्गठनको माग उठिरहेका बेला नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीलेनै पार्टीको विशेष महाधिवेशन माग गरेको छ।
शुक्रबार सम्पन्न पार्टी जिल्ला कमिटीको बैठकले तत्कालै विशेष महाधिवेशन गरेर पार्टी पुनर्गठनको माग गरेको अध्यक्ष बीपी भट्टराईले जानकारी दिए।
‘जेनजी पुस्ताको आन्दोलनपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको छ, यो समयको मागलाई पार्टीले बुझ्नुपर्छ,’ जिल्ला कमिटी निर्णयबारे अध्यक्ष भट्टराईले भने, ‘नयाँ पुस्ताले हरेक दलको रूपान्तरण चाहेको छ। हाम्रो पार्टीको पनि विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेर अघि बढ्नुपर्छ। हामीले केन्द्रसँग त्यही माग बैठकमार्फत् गरेका छौं।’
एकीकृत समाजवादी झापाले ०४६ यता सार्वजनिक पद धारण गरेका नेता, कर्मचारी र कार्यकर्ताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउनका लागि पार्टी केन्द्रले सशक्त दबाब सिर्जना गर्न पनि माग गरेको छ।