काठमाडौं, १४ असोज–प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन्।
प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन्।
त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्।
नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्।
तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्। सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो।