काठमाडौं, ४ कार्तिक–सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो। जसमा दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाका चुनावको सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन्।
कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गरेकी हुन्। कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् ।
यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन्।
रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् भने एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्।
यस्तै बैठकमा लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति नेपालबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्। जनमतबाट नेता चन्दनसिंह समेत बैठका सहभागी छन् ।
बैठकमा मन्त्रीहरू पनि सहभागी छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन् ।
