काठमाडौं, ५ कात्तिक–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ।

यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो।

सोमबार एक ट्रय औंस ९करिब ३२ ग्राम० सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६।३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ुद फाइनान्सियल टाइम्सु ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।

धेरै विश्लेषकले यसलाई ुढिलो आएको तर आवश्यक सुधारु का रूपमा व्याख्या गरेका छन्।

एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो। मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन्।

यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो।

‘छ सातामै १,००० डलर वृद्धि हुनुले नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,’ उनले भनिन्।

मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७।४ प्रतिशत र ५ प्रतिशत घट्यो।

केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढेको थियो।

विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो।

पछिल्ला महिना ठूला संस्थागत लगानीकर्ताहरूले पनि सुनमा लगानी बढाएका छन्। सेप्टेम्बरमा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो।

जापानदेखि अस्ट्रेलियासम्मका खुद्रा ग्राहक सुन किन्न झुम्मिएपछि केही सातायता सुनको मूल्य झन् उकालो लागेको थियो।

तर अहिले अमेरिका–चीनबीच व्यापार तनाव घटेको संकेत छ। अमेरिकी डलरमा पनि पुनरूत्थानको संकेत देखिँदैछ। यी सबैले मंगलबारको मूल्य घटाउन भूमिका खेलेको विश्लेषकहरूले बताएका छन्।

स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपरले अहिलेको गिरावटलाई प्राविधिक सुधार भनेकी छन्। दीर्घकालमा भने सुनमा अझै मूल्य वृद्धि हुने सम्भावना रहेको उनले बताइन्।

‘पछिल्ला दुई महिनामा सुनमा लगानी गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढेको छ’ उनले भनिन्, ‘अब उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षण भइरहेको छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *