धुलबारी, ८ कार्तिक–जङ्गली हात्तीको आक्रमणमा परेर झापाको मेचीनगरमा एक बालक गम्भिर घाइते भएका छन् ।
शनिबार मेचीनगर–२, सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोला जङ्गली हात्तीको आक्रमणमा परेर गम्भिर घाइते बनेको बाहुनडाँगीका हात्ती संरक्षणकर्मी शङ्कर लुइटेलले बताए ।
घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको घाँटी तथा शरीरमा चोट लागेको हो । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।गाँउमा आएको हात्तीलाई प्रहरी र स्थानीयले जङ्गलतर्फ धपाएको जनाइएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी नायव निरीक्षक दुर्गाबहादुर बस्नेतको कमाण्डमा ४ जनाको टोली खटिएर सो हात्तीलाई धपाइएको थियो ।

