बालेन शाह

काठमाडौं, १० भदौं–प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जबाफ दिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जबाफ दिने सम्भावित कार्यसूची छ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १ को बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई उपस्थित हुन रूलिङ गरेका थिए।

सो अनुसार आज संसदमा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर हुनेछ। यस कार्यक्रमका लागि ११ जना सांसदहरूले प्रश्न टिपाएका छन्।

सत्तारूढ रास्वपाका समीक्षा बाँस्कोटा, अमेरशकुमार सिंह, कृष्णहरि बुढाथोकीले प्रश्न टिपाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र गीता गुरूङले प्रश्न टिपाएका छन्।

विपक्षी दल नेकपा एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री बालेनलाई प्रश्न गर्नेछन्।  नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न टिपाएका छन्।

श्रम संस्कृतिका संसदीय दल नेता हर्क साम्पाङले प्रश्न टिपाएका छन्। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न गर्नेछिन्।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन्।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *