झिलझिले, १६ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी र त्रिशुली नदीको बाढीपहिरो पीडितहरुलाई रु एक लाख १ हजार १ सय ११ सहयोग प्रदान गरेको छ ।
छिेमेकी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राईका अनुसार रसुवाको भोटेकोशी र त्रिशुली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार १११ रुपैयाँ सहयोग गरिएकाो हो ।
बाढीका कारण देशका विभिन्न स्थानमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम राहत कोषमा जम्मा गरेको हो। प्राकृतिक विपत्तिका कारण घरबारविहीन बनेका तथा परिवारका सदस्य र सम्पत्ति गुमाएका नागरिकको तत्काल राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष राईले विपत्का बेला प्रभावित नागरिकको उद्धार र राहतको जिम्मेवारी राज्यको मात्र नभई समाजमा क्रियाशील सहकारी, गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाको पनि उत्तिकै महत्वपूर्ण दायित्व हुने बताए। राज्यले सञ्चालन गर्ने राहत तथा पुनर्स्थापना अभियानमा संस्थागत रूपमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको उनको भनाइ छ।
“सहकारी संस्था सदस्यहरूको आर्थिक कारोबारमा मात्र सीमित हुनु हुँदैन। समाजमा आइपर्ने दुःख, विपत्ति र मानवीय सङ्कटका बेला आफ्नो क्षमताअनुसार सहयोग गर्नु पनि सहकारीको सामाजिक दायित्व हो,” अध्यक्ष राईले भने। विपत्तिको समयमा राज्यसँग हातेमालो गर्दै प्रभावित नागरिकसम्म राहत पुर्याउने अभियानमा सबै सङ्घसंस्था तथा नागरिकले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा उनले जोड दिए।
संस्थाका कार्यकारी प्रमुख नरप्रसाद ओलीले सहकारीको मूल मर्म नै आपसी सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्व रहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिबाट पीडित परिवारको दुःखमा साथ दिन संस्थाले प्रधानमन्त्री राहत कोषमार्फत सहयोग उपलब्ध गराएको बताए। उनले विपत्तिका बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोगमा जुट्नु सबैको साझा दायित्व भएको बताए।
छिमेकी बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। संस्थाले सामाजिक, शैक्षिक तथा मानवीय सेवाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्दै आएको छ।
भदौ १० गतेको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था र नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी छ। यसै अभियानमा ऐक्यबद्धता जनाउँदै छिमेकी बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
