शिवसताक्षी, २९ असोज–पुरानो पुस्ताको लोकप्रिय खेल झुम्म्रोको संरक्षण गर्दै नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले झापाको शिवसताक्षी–८ मा ‘डाँडा स्कुल झुम्म्रो कप’ आयोजना हुने भएको छ।

स्थानीय गोर्खाली हर्ट र डँडा स्कुलको आयोजनामा बडा दसैँको अवसर पारेर यही असोज ३१ गते फूलपातीका दिन शिवसताक्षी–८ डाँडा स्कुल (श्री अरुणोदय आधारभूत विद्यालय) को खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगिताको विजेता टोलीले नगद १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा १६ टोली सहभागी हुने र प्रत्येक टोलीमा चार जना खेलाडी रहने आयोजक गोर्खाली हर्टका सचिव योमन थेवे लिम्बुले जानकारी दिए।

परम्परागत रूपमा झुम्म्रोबाट बनाइएको बल प्रयोग गरिने प्रतियोगितामा गोलकिपरबिना खेल खेलाइनेछ। खेलाडीले विपक्षी टोलीलाई छक्याउँदै बल गोलपोस्टभित्र पुर्‍याउनुपर्नेछ।

खुला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता एकै दिनमा सम्पन्न हुने आयोजकले जनाएको छ।

आधुनिक खेल सामग्री र प्रविधिको आकर्षण बढ्दै जाँदा गाउँघरमा खेलिने मौलिक खेलहरू हराउँदै जान थालेका छन्। यस्तो अवस्थामा झुम्म्रो कपले पुरानो खेल संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै मौलिक परम्परा र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

गोर्खाली हर्टले विगत केही वर्षदेखि झुम्म्रो कप आयोजना गर्दै आएको छ।

दसैँको अवसरमा मनोरञ्जन प्रदान गर्ने, समुदायबीच आपसी सद्भाव बढाउने र पुरानो पुस्ताको खेल संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *