उर्लाबारी, ३० असोज–मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोला बगरबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो लुकाएर राखिएको अवस्थामा आठवटा सेतो बोराभित्र रहेको २६४ किलो ५९० ग्राम गाँजा बेवारिसे अवस्थामा बरामद गरिएको थियो।
उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले निगरानी गर्ने क्रममा राति ११स्२५ बजे केही व्यक्ति गाँजा बोकेर भारततर्फ जाँदै गरेको फेला पारेको थियो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरिएको जनाएको छ। त्यसपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले पुनः एक राउन्ड गोली चलाउँदा एक जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। उनको घुँडामुनि पिँडुलामा गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चौधरीसँगै भारतको अररिया जिल्ला, महगामा ग्राम पञ्चायत, थाना–४ का ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट करिब १०० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
