बिर्तामोड, ३ कात्तिक–झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोक नजिकैको भित्री सडकमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय जीवन दनुवारकी छोरी जलशा दनुवारको मृत्यु भएको हो।
प्रहरीका अनुसार आज दिउँसो करिब ३ः४५ बजे घरअगाडि हिँडिरहेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट बालिकाको अनुहार, खुट्टा र पेटमा चोट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले दिउँसो ४-३० बजे मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीबाट डिएसपी सन्तोष पाठकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रारम्भमा मोटरसाइकल र चालकको पहिचान खुल्न नसकेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा आज साँझ करिब ६ः२० बजे प्रदेश १–०२–०२० प ६७६ नम्बरको मोटरसाइकल र चालकको पहिचान गरेको थियो। खोजतलास गर्ने क्रममा ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ८ टुथबारी बस्ने २० वर्षीय आनन्द घिमिरे रहेको खुलेको हो ।
उक्त मोटरसाइकल घिमिरेकै घरमा फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीतर्फ ल्याउने कार्य भइरहेको छ । मोटरसाइकल चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको छ । बालिकाको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
