काठमाडौं, ११ कार्तिक–जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने जनाएको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ। साथै बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू-भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।भोलि बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भू–भागका केही स्थान र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी, मधेस, बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको समेत सम्भावना छ।
यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ।
