काठमाडौं, ११ कार्तिक–अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
बुधबार बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैले धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले नेम्बाङ, राई, एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
जोशी र पाण्डे यसअघि नै धरौटीमा रिहा भइसकेका छन्।
